मन्थली नगरको ’ड्रिम प्रोजेक्ट’, लक्ष भन्दा उल्टो बाटोमा

रामेछाप । मन्थली नगरपालिकाको भर्खरै सम्पन्न हिउँदे अधिवेशनमा अधिवेशनका निर्णयमा भन्दा बढी चर्चा तीनलाल पार्कको विषयमा भएको छ ।मन्थली नगरपालिकाका निवर्तमान नगर प्रमुख रमेश बस्नेतको पालामा सुरु गरिएको मन्थली नगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण गरेको तीनलाल पर्यटकीय पार्क अहिले मन्थली पार्क इन प्राइभेट लिमिटेड नामबाट सञ्चालनमा छ । नेपाली साहित्यका प्रथम सहिद कृष्णलाल अधिकारी, प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ जन्मिएको जिल्ला भएकोले रामेछापको मन्थली नगरपालिका–१ गढवारिमा उनीहरूको सम्झनामा पार्क निर्माण गरिएको हो ।
सोही तीनलाल पार्क अहिले मन्थली पार्क इन प्राइभेट लिमिटेड नामबाट सञ्चालनमा छ । सहिदहरू कृष्णलाल अधिकारी, गङ्गालाल श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सालिक रहेको पार्कको नाम नै अर्को बनाएर अस्तित्व धरापमा पार्ने काम भएको अगुवाहरूको गुनासो छ । रामेछापको ऐतिहासिक गौरव बोकेको तीनलाल पार्कलाई व्यवसायीले मनलाग्दी नाम परिवर्तन गरी सञ्चालन गर्दा पनि मन्थली नगरपालिका मौन छ,जिल्लाका सरोकारवाला निकायको ध्यान गएको छैन ।
सोमवार मन्थली नगरपालिकामा आयोजित पत्रकार भेटघाटमा तीनलाल पार्कको विषय उठान भए पछि सम्झौता हेरेर नगरपालिकाले कदम चाल्ने मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत र प्रवक्ता गोपाल श्रेष्ठले बताए । सोमबार मन्थली नगरपालिकाको १६ औँ नगर सभाको निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा सहभागी पत्रकारहरूले यस बारेमा कुरा उठाएपछि नगर प्रवक्ता श्रेष्ठले तीनलाल पर्यटकीय पार्कलाई मन्थली पार्क इन प्राइभेट लिमिटेड बनाइएको बारे नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताए ।
यद्यपि नगरपालिकाले त्यहाँ कार्यक्रम नगरेको र नगरपालिकाको आँखा नपुगेको भने हैन । नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरू बारबार त्यहाँ पुगेर पनि नदेखेको झैँ गरेको सरोकारवालाहरूको भनाई छ । सरोकारवालाहरू भन्छन्– नगरपालिकालाई आम्दानीको स्रोत बढाउनु थियो, बढाएकै छन् । ऐतिहासिक गौरव बोकेको तीनलाल पार्कलाई मन्थली नगरको ’ड्रिम प्रोजेक्ट’ को लक्ष भन्दा उल्टो बाटोमा लगिँदैछ ।
मन्थली नगरपालिका र सङ्घीय सरकारको ६ करोड ८६ लाख २१ हजार रुपैयाँ संयुक्त लगानीमा २०८० असारमा यो पार्क निर्माण सम्पन्न भएको हो । कूल १७ रोपनी जमिनमा फैलिएको सो पार्कमा दुई तले प्रशासनिक भवन, ४ सय ८ जना क्षमताको सभा हल, महिला, पुरुष बच्चा सहितको ७५ देखि १०० जना क्षमताको तीन वटा पौडी पोखरी, चेन्जिङ रुम तथा स्नान कक्ष रहेका छन् । त्यस्तै यो पार्कमा चमेना गृह, टिकट घर तथा शौचालय र बगैँचा पनि रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button