साँघुटारबासीको स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारबासीहरु स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन गएका छन्  । रामेछाप नगरपालिका वडा नं १ गोठ गाउँ र वडा नं ३ को सिमाना लिखु नदिमा निर्माण हुन लागेको श्वेतगंगा हाइड्रोपावरका कारण नदी आसपासको करिब ५ सय रोपनी खेत पूर्ण रूपमा प्रभावित हुने भन्दै  आज सोमबार  हाइड्रोपावर विरुद्ध स्थानीय उपभोक्ताहरू डेलिगेशन गएका हुन् ।

   श्वेतगंगा हाइड्रोपावरले स्थानीयहरूलाई विना जानकारी आफ्नो अनुकूल  नदिको ओखलढुङ्गा खण्डमा पावर हाउस बनाउने लक्ष्य सहित  काम गर्न लागेको र हाइड्रोपावर निर्माण सँगै  उक्त  नदी  किनारमा पर्ने लाम्बिरे, सिम्ले र बलौटे फाँटमा रहेको करिब ५ सय रोपनी खेत पूर्ण रूपमा बाँझो हुने भएकोले उक्त कम्पनीको काम रोक्न माग गर्दे आफूहरू  आधिकारिक निकायमा डेलिगेशन आउन बाध्य भएको आफ्नो डेलिगेसन  पत्रमा उल्लेख गरेका छन् । 

स्थानीय मोहन बहादुर प्रधान, राजेन्द्र कुमार प्रधान र उज्जन कुमार प्रधान लगायतका करिब १ सय जना उपभोक्ताहरूले आज प्रमुख जिल्ला अधिकारी राजु पौडेल र रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेलाई कार्यकक्षमानै पुगेर आफ्नो लिखित  गुनासो पत्र पेस गरेका थिए ।  श्वेतगंगा हाइड्रोपावरले स्थानीयहरूलाई कुनै पनि  जानकारी नै नगराई आफ्नो काम गर्न लागेकोले  उक्त कार्य  स्थगित गरी उपभोक्ताहरूलाई स्थलगत रुपमानै छलफल गराएर मात्र काम अघि बढाउन माग गरेका छन् । 
स्थानीय हरूको सहमति विना उक्त काम अघि नबढाउन माग गर्दे स्थानीय सरकार र प्रशासन कार्यालयमा पुगेका उपभोक्ताहरू सँग रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपाने र प्रजिअ राजु पौडेलले स्थानीय हरूको मागलाई समर्थन जनाएका छन् । उनीहरूले स्थानीय हरूको समस्याको बारेमा सम्बोधन गरेर मात्र काम अघि  बढाउने वातावरण आफूहरूले निर्माण गर्ने भन्दै ढुक्क भएर घर फर्कन आग्रह गरेको स्थानीय अगुवा एवं टोलीका सदस्य हरि बहादुर प्रधानले बताए । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button