२८ वर्ष पार गर्यो जगदीशको सपना

रामेछाप । रामेछापका लागि सहकारी अभियन्ता जगदीश घिमिरेको सपनाले २८ वर्ष पार गरेको छ। एघार हजार पुँजीबाट सुरु भएको एक सहकारी हाल अर्बौँ पुँजीको भएको छ । तामाकोसी सेवा समितिका ११ जना कर्मचारी एवम् स्वयंसेवकहरूले एक–एक हजार उठाएर सुरु गरेको मन्थली बचत तथा ऋण सहकारी संस्थाको पुँजी १ अर्ब नाघेको संस्थाको २८ औँ स्थापना दिवसमा संस्थाका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले बताए । अहिले मन्थली बचतको झन्डै १७ हजार जना शेयर सदस्य रहेको यो सहकारी जिल्लाकै अब्बल सहकारी माध्ये एक बन्न सफल भएको सहकारीका अध्यक्ष घिमिरेले बताए । मन्थली बचतले रामेछाप जिल्ला विकासका लागि विभिन्न ठाउँमा भूमिका रहेको पनि उनले बताए ।
मन्थली बचतले तामाकोसी सेवा समिति सँग मिलेर तामाकोसी सहकारी अस्पताल समेत चलाएको थियो । मन्थली बचतले सोही अस्पताल मार्फत आफ्ना सेयर सदस्यहरूलाई उपचार शुल्कमा विशेष छुट, एम्बुलेन्स खर्चमा छुट साथै सदस्य मृत्यु राहत समेत उपलब्ध गराउँदै आएको छ ।
जिल्लाको पहिलो नंबरको यस सहकारीमा १७ हजार भन्दा बढी शेयर सदस्यहरू छन् । मन्थली नगरपालिकाको १४ वटै वडा, रामेछाप नगरपालिकाको ४ वडा, लिखुतामाकोशी गाउँपालिकाको ४ वडा र खाँडादेवी गाउँपालिका २ वडा यस संस्थाको कार्यक्षेत्र रहेको छ । साहित्यकार स्व.जगदीश घिमिरेको तामाकोसी सेवा समिति जन्माउने परिकल्पना सफल भए पश्चात् मन्थली बचत तथा ऋण सहकारी संस्था लि.को जन्म भएको हो ।
२८ औँ स्थापना दिवसका अवसरमा मन्थली बचतले आफ्ना ९० जना सदस्यलाई विद्युतीय चुलो दिएको छ । सहकारीले आइतबार सहकारीका अध्यक्ष घिमिरेको अध्यक्षता र जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काको प्रमुख आतिथ्ययतामा मन्थलीमा एक कार्यक्रमको आयोजना गरी सहकारीले विद्युतीय चुलो प्रदान गरेको हो ।
सहकारीले गत वर्षहरूमा जस्तै २८ औँ स्थापना दिवसमा पनि ९० जना सदस्यहरूलाई इन्डक्सन (विद्युतीय) चुलो प्रदान गरिएको सहकारीका सचिव हिमाल ढुङ्गेलले बताए । आफ्ना सदस्यहरूको भान्सा धुवाँ रहित बनाउने अभियान स्वरूप विद्युतीय चुलो प्रदान गरिएको उनले बताए । उनले भने “सहकारीले आफ्नो स्थापना दिवसमा यस्ता कार्यक्रम गर्दै आएको छ । २८ औँ स्थापना दिवसमा उत्कृष्ट बचत कर्ता ५ जना, उत्कृष्ट बाल बचत कर्ता ५ जना, उत्कृष्ट ऋणी ५ जना र अन्य ७५ जना सदस्यलाई विद्युतीय चुलो प्रदान गरिएको छ । यो आफ्ना सदस्यको भान्सा धुवाँ रहित बनाउने सहकारीको अभियान हो ।” २४ जना कर्मचारी मध्येबाट उत्कृष्ट एक जना कर्मचारीलाई नगद पाँच हजार सहित सम्मान गरिएको पनि उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले रामेछाप जिल्लाको सहकारी आन्दोलनमा मन्थली बचत तथा ऋण सहकारी संस्थाको भूमिका अतुलनीय रहेको बताए ।
२०५४ साल माघ २० गते जिल्ला सहकारी कार्यालय काठमाडौँमा विधिवत् दर्ता भएर रामेछापमा कार्यक्षेत्र बनाई २०५० सालमा तामाकोसी सेवा समितिका ११ जना कर्मचारीहरूको रु १–१ हजार सञ्चालन गरी सुरु भएको थियो । यो सहकारीले अहिले जिल्लाका दुई नगरपालिका तथा ६ वटै गाउँपालिकाको ६४ वटै वडा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ ।
१६ हजार ९४५ जना शेयर सदस्य रहेको मन्थली बचतको एक अर्ब ३७ करोड ६५ लाख एक हजार ७ सय ५६ रुपैयाँको कूल सम्पत्ति रहेको छ । नौ करोड ४३ लाख १५ हजार ९ सय रुपैयाँ शेयर पुँजी रहेको मन्थली बचतले ७८ करोड ९७ लाख ९५ हजार १७४ रुपैयाँ ऋण लगानी गरेको छ । यो सहकारीको एक अर्ब ५ करोड ८५ लाख ६३ हजार १४९ रुपैयाँ कुल बचत रहेको छ ।



