सामुदायिक वनमा आगो लगाउने २ जना दाजुभाई पक्राउ

रामेछाप । दोरम्वा शैलुङ गाउँपालिका वडा नं. ३ छहरेछाप डाडाँ र लालिगुँरास सामुदायिक वनमा आगो लगाउने दुई दाजुभाइ पक्राउ परेका छन ।
दोरम्वा शैलुङ गाउँपालिका वडा नं. ३ बस्ने ५० बर्षका पदम वि.क. र ४५ वर्षका चन्द्र बहादुर वि.क. दाजु भाईलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयले आगो लगाई भागेको भनि सूचना दिए पछि प्रहरीले खोजतलास गर्ने क्रममा चैत्र २ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
दाजुभाई गत चैत्र १ गते दिनको अन्दाजी ११ः०० बजेको समयमा सामुदायिक वनमा आगो लगाई फरार रहेका थिए ।
दाजुभाईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाएको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
केही दिन यता जिल्लाको गोकुलगंगा गाउँपालिकाको बेताली, मन्थली नगरपालिकाको गैराथोक र उमाकुण्ड गाउँपालिकाको बाम्तिभण्डार लगाएतका स्थानमा आगो लागेको थियो ।



