रामेछाप नगरपालिकाको विकास खर्च १३ दशमलव ४५ प्रतिशत मात्रै

रामेछाप । चालु आर्थिक वर्ष २०८१/०८२ को ८ महिना बित्दा जिल्लाको रामेछाप नगरपालिकाको विकास खर्च जम्मा १३ दशमलव ४५ प्रतिशत मात्रै भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा नगरपालिकाले चालु तर्फ ४४ दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ १३ दशमलव ४५ प्रतिशत बजेट खर्च गरेको हो ।
आईतबार नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमा चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म जम्मा बजेट ७६ करोड ८८ लाख ६९ हजार ५ सय ५१ रहेकोमा २६ करोड ७ लाख ५५ हजार ६ सय ९४ रुपैयाँ अर्थात ३३.९१ प्रतिशत रकम खर्च गरेको प्रतिवेदन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले प्रस्तुत गरे ।
प्रमुख प्रशासकिय अधिकृत चापागाईले यो अवधिसम्म चालु तर्फ ५१ करोड ३७ लाख ३ हजार ७ सय २३ रुपैया बजेट रहेकोमा २२ करोड ६४ लाख २३ हजार १ सय ८ रुपैया अर्थात ४४ दशमलव ०९ प्रतिशत बजेट खर्च भएको बताए । पुँजीगत तर्फ २५ करोड ५१ लाख ६५ हजार ८ सय २८ रुपैया बजेट रहेकोमा ३ करोड ४३ लाख ३२ हजार ५ सय ८६ रुपैया अर्थात १३ दशमलव ४५ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकिय अधिकृत चापागाईले बताए ।
यो अवद्यिसम्म नगरपालिका तथा वडाले विभिन्न शिर्षकमा ७० लाख ७८ हजार राजश्व संकलन गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरीकहरुले प्रश्न,जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । नागरीकले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन र विकास निर्माणका कामहरुसँग सम्बन्धित प्रश्न गरेका थिए । नागरीकहरुले सोधेको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई र सम्बन्धित वडाका वडाअध्यक्षले दिएका थिए ।



