वन डढेलो नियन्त्रणका लागि प्रत्येक वडामा समिति गठन गरिने

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाले सामुदायिक वन डढेलो नियन्त्रण सम्बन्धी सरोकारवालाहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । लिखुतामाकोशी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले वन डढेलो नियन्त्रण सम्बन्धी प्रत्येक वडामा समिति गठन गर्ने बताएका छन् । उनले भने– हरेक विद्यालयका कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई वन डढेलो र यसका असर सम्बन्धी कक्षा सञ्चालन गर्ने तयारीमा हामी छौँ । सामुदायिक वनलाई व्यावसायिकीकरण गरेर आयआर्जनमा जोड्ने कोसिसमा समेत हामी लागेका छौँ ।
सामुदायिक वनका समितिहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू र विद्यालयका प्रधानाध्यापकहरू लगायत सबैको सामूहिक प्रयासबाट वनको व्यवसायीकरण र वनको संरक्षण हुने अध्यक्ष महतले बताए ।

कार्यक्रममा ५९ वटा सामुदायिक वन र १३ वटा कवुलियति वनका प्रतिनिधि, १० वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष प्रदीप कुमार तामाङ र सब डिभिजन वन धोबीका प्रमुख भुवन विकले सामुदायिक वनमा लाग्ने आगो नियन्त्रण, सामुदायिक वनलाई आयआर्जनमा कसरी जोड्ने, उत्पादन र रोजगार सिर्जनामा वनको भूमिका सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लिखुतामाकोशी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गोपाल राज तामाङले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा गाउँपालिका उपााध्यक्ष दिपा पाख्रीन, झट्टेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक रुकमणी खड्का , खिम्ती माध्यमिक विद्यालयका प्रधानाध्यापक छविलाल श्रेष्ठ, नवदर्शन माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र पौडेल, त्रिपुरेश्वर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मिङमार शेर्पा लगायतले वन र आगलागीका विषयमा महत्वपुर्ण भनाई राखेका थिए ।
कार्यक्रम झट्टेश्वर माध्यमिक विद्यालयको सभाहलमा भएको थियो ।