स्थापना दिवसमा युनियन रामेछापको विविध कार्यक्रम

रामेछाप । नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन रामेछाप शाखाले मंगलबार बिहान मन्थली अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गर्दै स्थापना दिवसको सुरुआत गरेको छ । साथै सोही दिन साँझ युनियनले बिपी चोकमा बिपीको सालिक अगाडी दीप प्रज्वलन कार्यक्रम समेत आयोजना गरेको छ।
मन्थली अस्पतालमा आयोजित कार्यक्रममा युनियनका अध्यक्ष ज्ञानु श्रेष्ठ सहित पदाधिकारी, सदस्य तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले बिरामीहरूसँग संवाद गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।
अध्यक्ष श्रेष्ठले प्रेस युनियन केवल पत्रकारको संगठन नभई सामाजिक उत्तरदायित्व वहन गर्ने संस्था पनि भएकोले यस किसिमका सेवामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने बताए। “हामी पत्रकार मात्र होइनौँ, समाजप्रति उत्तरदायी नागरिक पनि हौँ। त्यसैले यस्ता कार्यक्रममार्फत हाम्रो सामाजिक भूमिकालाई निरन्तरता दिनेछौँ,” उनले भने।
प्रेस युनियन रामेछापले ३४औँ स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रमको सन्दर्भमा जेठ १५ गतेः “लोकतन्त्रमा प्रेसको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम र जेठ १९ गतेः पत्रकारहरूका लागि आँखा परीक्षण शिविर समेत आयोजना गर्नेछ ।
यस शृङ्खलाबद्ध कार्यक्रममार्फत प्रेस युनियनले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सेवाका पक्षमा आफ्नो प्रतिबद्धता दोहो¥याएको छ। कार्यक्रमहरूमा जिल्लाभरिका पत्रकार, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रेस युनियन रामेछापले प्रत्येक वर्ष स्थापनाको स्मरणमा विविध कार्यक्रम गर्दै आएको भए पनि यस वर्षको कार्यक्रमलाई अझ व्यापक र सहभागितामूलक बनाइने जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button