रामेछापका पालिकामा मनाइयो धान दिवस

रामेछाप । कृषि प्रधान देश नेपालमा ‘राष्ट्रिय धान दिवस’ को रूपमा मनाइने असार १५ गते रामेछाप जिल्लाका सबै स्थानीय तहमा विविध कार्यक्रमसहित धान दिवस उल्लासपूर्वक मनाइएको छ।
जिल्लाका ८ वटा स्थानीय तह — मन्थली नगरपालिका, रामेछाप नगरपालिका, गोकुलगंगा, लिखु तामाकोशी, उमाकुण्ड, दोरम्बा शैलुङ, सुनापती र खाँडादेवी गाउँपालिकामा छुट्टाछुट्टै कार्यक्रम गरी धान रोपाई सम्पन्न गरियो।
असार १५ लाई किसानहरूको पर्वका रूपमा लिइने गरिन्छ। यही सन्देशलाई प्रवाह गर्न जिल्लाभरका पालिकाहरूले आ–आफ्नो क्षेत्रका रोपाइँ हुने खेतबारीमा सामूहिक कार्यक्रमको आयोजना गरेका थिए। कार्यक्रममा स्थानीय किसान, कृषि प्राविधिक, विद्यालयका विद्यार्थी, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
मन्थली नगरपालिकामा नगर प्रमुख लव श्रेष्ठ स्वयम् खेतमा ओर्लिएर रोपाइँमा सहभागी भएका थिए। ‘धान वालीमा सघनता, खाद्यसुरक्षामा आत्मनिर्भरता’ भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको थियो।
रामेछाप नगरपालिकामा पनि जनप्रतिनिधि, कर्मचारी लगायत सरोकारवालाहरू रोपाइँमा सहभागी भएका थिए। गोकुलगंगा गाउँपालिकामा वडा नं. ३ रस्नालुमा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उषादेवी कार्की, गाउँपालिकाका कर्मचारी र किसानहरूको सहभागितामा रोपाइँ गरिएको थियो।
लिखु तामाकोशी गाउँपालिकामा धान दिवसलाई विशेष बनाइएको थियो। उमाकुण्ड गाउँपालिकामा हिमाली क्षेत्रको भए पनि केही समथर भूभागमा रोपाइँ सम्भव हुने स्थानहरूमा प्रतीकात्मक रूपमा कार्यक्रम सम्पन्न गरिएको थियो।
यसरी जिल्लाभर विविध कार्यक्रममार्फत मनाइएको धान दिवसले कृषिमा देखिएको जनचासोलाई झल्काएको छ। स्थानीय तहहरूले उत्पादनमूलक खेतीमा जोड दिँदै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित हरेक वर्ष यो पर्वलाई विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
धान दिवसका कार्यक्रममार्फत कृषि पर्यटनको सम्भावना, स्थानीय बीउको संरक्षण, र सामूहिक खेती प्रवद्र्धन गर्न सकिने सन्देश पनि उजागर भएको देखिएको छ। धान, किसान र माटोको सम्मान स्वरूप मनाइने असार १५ ले रामेछापमा फेरि एकपटक सामूहिक श्रम, संस्कृति र उत्सवको प्रतिक बन्दै राष्ट्रिय चासोका विषयहरूमा ध्यान खिच्न सफल भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button