त्रिशूली किनारमा टुङ्गिएको एक साहसी प्रहरीको यात्रा

रामेछाप । न त कुनै युद्ध थियो, न त कुनै आक्रमण। तर राष्ट्रको सुरक्षार्थ ड्युटीमा खटिएका एक प्रहरी अधिकृत बाढीको उर्लदो छालमा हराए। उनी थिए—नेपाल प्रहरीका सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठ। रामेछापको लिखुतामाकोशी गाउँपालिका–४, बिजुलिकोट धारापानीका स्थायी बासिन्दा। कर्तव्यनिष्ठ, मिलनसार र निर्भीक भनेर चिनिने श्रेष्ठ भोटेकोशी बाढीमा बेपत्ता भएदेखि देशभरका सुरक्षाकर्मी र आम नागरिकले उनको खोजी गरिरहेका थिए।
अन्ततः उनको जीवनयात्राको अन्तिम बिन्दु चितवनको त्रिशूली नदी किनारमा पुगेर टुङ्गियो। चितवनको १५ किलो भन्ने स्थान नजिक त्रिशूली नदीको किनारमा फेला परेको थियो, राष्ट्रसेवक श्रेष्ठको शव। बाढीले बगाएको थियो उनको शरीर, तर बगाउन सकेन उनको कर्तव्यपरायणताको इतिहास।
रसुवाको नेपाल–चीन सीमा क्षेत्रमा अविरल वर्षापछिको भीषण बाढीले भोटेकोशी नदीलाई खतरनाक बनायो। त्यही नदीको किनारमा, मितेरी पुल नजिकै सुरक्षार्थ खटिएका थिए असई श्रेष्ठ। बाढीको उग्र छालले क्षणभरमै सुरक्षा पोस्ट बगायो। त्यससँगै हराए उनी। उनी मात्र होइन, अन्य दुई जना प्रहरी जवानसहित १५ जना सर्वसाधारण पनि बेपत्ता भएका थिए।
श्रेष्ठ बेपत्ता भएको खबरसँगै परिवारमा मात्रै होइन, सम्पूर्ण प्रहरी संगठनमा स्तब्धता छायो। खोजी कार्य जारी रह्यो, हेलिकप्टर उडाइयो, सुरक्षाकर्मीहरू खटिए। तर दिन बित्दै जाँदा आशा कमजोर हुँदै गयो।
अन्ततः चितवनको त्रिशूली नदी किनारमा शव भेटियो। शरीर मूक थियो, तर शिर उचो बनाउने असईको साहसिक कथा मौन भएर पनि गुञ्जायमान थियो। कर्तव्यस्थलमै जीवन अर्पण गरेका श्रेष्ठको यो यात्रा त्रासदीपूर्ण भए पनि प्रेरणादायी बनेको छ।
श्रेष्ठको मृत्युले उनका परिवारलाई गहिरो पीडा दिएको छ। तर उनलाई चिनेका र संगै काम गरेका सहकर्मी, गाउँले र सहपाठीहरू उनीमाथि गर्व गर्छन्। “उहाँ जति इमानदार र सच्चा राष्ट्रसेवक भेट्न गाह्रो पर्छ,” एक पुरानो सहकर्मीको प्रतिक्रिया थियो।
प्रहरी संगठनका सयौं सदस्य देशभरि दैनिकजसो खतराको सामना गर्दै ड्युटीमा खटिन्छन्। असई श्रेष्ठ तिनैमध्ये एक उदाहरणीय पात्र थिए, जसले ड्युटीको अन्तिम क्षणसम्म पनि जिम्मेवारी छाडेनन् -श्रीकृष्ण खड्काले भने। उनका सहकर्मीहरूका लागि उनी प्रेरणा बनेर रहनेछन्, र आम नागरिकका लागि राष्ट्रप्रेमको मूर्तरूप।
त्रिशूली नदीको पानी बगिरहन्छ, तर त्यससँगै बग्दैन असई श्रेष्ठको सम्झना। राष्ट्रका लागि समर्पित एक निष्ठावान प्रहरीको जीवन गुम्यो, तर उनले देखाएको आदर्शले दीर्घकालसम्म प्रभाव पारिरहनेछ। उनी अब हामीमाझ छैनन्, तर उनको कथा हामी सबैका मनमा अमर रहनेछ—कर्तव्य, साहस र बलिदानको प्रतीक भएर।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button