मन्थली माविमा भर्ना प्रवर्धन तथा शिक्षक सम्मान

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ स्थित मन्थली माध्यमिक विद्यालयमा कक्षा ११ को भर्ना प्रवर्धन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। २०८२ असार २७ गते विद्यालय परिसरमै आयोजित कार्यक्रमले विद्यालयको गुणस्तरीय शिक्षामा रहेको प्रतिबद्धता र शिक्षकप्रतिको सम्मानको संस्कृतिलाई अझ सुदृढ बनाएको छ।
कार्यक्रमको मुख्य उद्देश्य हालै एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूलाई मन्थली माविमा कक्षा ११ अध्ययनका लागि आकर्षित गर्नु र विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारबारे जानकारी गराउनु रहेको थियो। कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, अभिभावक, स्थानीय बासिन्दा, विद्यार्थी तथा नगरस्तरका शिक्षासम्बन्धी सरोकारवाला निकायका प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयमा कक्षा ११ मा उपलब्ध शिक्षण विषयहरू—विज्ञान, व्यवस्थापन, शिक्षा तथा मानविकी समूह—बारे जानकारी दिइएको थियो। विद्यालयमा शैक्षिक गुणस्तरमा सुधारका लागि लिइएको नवीनतम उपाय, अध्ययन वातावरण, पुस्तकालय, ल्याब, खेलमैदान, छात्रवृत्तिका अवसर लगायतका पक्षमा प्रकाश पारिएको थियो।
कार्यक्रमको अर्को आकर्षणको विषय थियो—शिक्षक सम्मान। विद्यालयमा लामो समयदेखि सेवा गर्दै आएका अनुभवी शिक्षकहरू तथा एसइईमा उत्कृष्ट नतिजा नतिजा आएका विषय शिक्षकहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। शिक्षण पेशामा योगदान पु¥याउँदै आएका शिक्षकहरूको निष्ठा, कर्तव्यबोध र लगनशीलता प्रति कृतज्ञता प्रकट गर्दै विद्यालय प्रशासनले उनीहरूको योगदानको उच्च मूल्याङ्कन गरेको छ।
विद्यालयका प्रधानाध्यापक टंक प्रसाद दहालले कार्यक्रममा सम्बोधन गर्दै विद्यालयको विगत, वर्तमान र भविष्यको दिशा प्रस्तुत गरे। उनले भने, “मन्थली मावि अब केवल नगरकै होइन, जिल्लाकै नमूना विद्यालय बन्ने बाटोमा अगाडि बढेको छ। यो सम्भव भएको छ विद्यालय परिवारको सामूहिक प्रयास र अभिभावकको निरन्तर सहयोगका कारण।“
उपस्थित अतिथिहरूले विद्यालयले भर्ना प्रवर्धनमा देखाएको सक्रियता र शिक्षक सम्मानको अभ्यासलाई उदाहरणीय भन्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिए। कार्यक्रम मन्थली नगरपालिका वडा नं. १ का वडाध्यक्ष होमबहादुर पौडेल र मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको थियो ।
यस किसिमका कार्यक्रमले स्थानीय तहमा रहेका शैक्षिक संस्थाहरूलाई विद्यार्थी भर्ना र शैक्षिक वातावरण निर्माणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ। मन्थली माविले निरन्तर सुधार र समर्पणका माध्यमबाट विद्यालयलाई उत्कृष्टताको यात्रामा डोर्याइरहेको छ भन्ने सन्देश कार्यक्रमले दिन सफल भएको छ।



