एघार स्रष्टा सम्मानित, साहित्यिक पत्रकारिता पुरस्कार रामेछापका उद्धव अविचललाई

काठमाडौं । कपन बानेश्वर साहित्यिक साप्ताहिक (कबा) को १३औँ वार्षिकोत्सव समारोह सोमबार एक भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। साहित्यिक चेतनाको विस्तार र स्रष्टा सम्मानमा प्रतिबद्ध उक्त पत्रिकाले विगत १३ वर्षदेखिको साहित्यिक यात्रालाई स्मरण गर्दै यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको सुरुवातमा कबाका स्तम्भ कवि त्रिलोचन आचार्यले अतिथिहरुलाई स्वागत गर्नुका साथै कबा साहित्यकार उपचार कोषका गतिविधिबारे जानकारी दिए । उनले साहित्य सिर्जना मात्र होइन, साहित्यकारको जीवन र स्वास्थ्यप्रतिको सहानुभूति पनि संस्थाको मूल उद्देश्य भएको स्पष्ट पारे ।
समारोहमा विभिन्न विधामा उल्लेखनीय योगदान दिने एघारजना साहित्यिक स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो। यस वर्षको कबा विशिष्ट सम्मान साहित्यकारहरू मदनराज थापा, चन्द्रा न्यौपाने र मुरलीप्रसाद ढकाललाई प्रदान गरिएको छ। त्यस्तै, कबा सम्मान शम्भु चालिसे र रन्जु खनाललाई प्रदान गरिएको थियो।
साहित्यिक पत्रकारितामा योगदान पु¥याएवापत महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार उद्धव अविचललाई प्रदान गरियो। त्यसैगरी, नालाङ कबा रचना पुरस्कार राजेशमान केसी, पुष्करप्रसाद श्यामा खरेल स्मृति कबा रचना पुरस्कार प्रीति कौर, गङ्गा लिगल कबा रचना पुरस्कार रामकुमार श्रेष्ठ फुच्चे, हेमगङ्गा कबा रचना पुरस्कार पूजा शाही, र भमरकोटे कबा सुसेली पुरस्कार सुरेशचन्द्र घिमिरेलाई गरिएको थियो।
सम्मान तथा पुरस्कारहरू प्रमुख अतिथिको रुपमा उपस्थित रहेका प्रा.डा. हेमनाथ पौडेल, शुकदेव उपाध्याय, प्रा.डा. गोविन्दमान सिंह कार्की, प्रल्हाद पोखरेल, वेदमणि घिमिरे, मोहन चापागाईं, कृष्ण सुवेदी, विक्रम श्रेष्ठ सागर र ओमप्रसाद कोइरालाबाट प्रमाणपत्र गरिएको थियो। साथै, दुर्गा अधिकारी भमरकोटे, गङ्गा पौडेल, महेन्द्र चालिसे, गङ्गा लिगल र सञ्चिता खरेलबाट नगद पुरस्कार पनि प्रदान गरिएको थियो।
समारोहमा सहभागी स्रष्टाहरूलाई स्वागत गर्दै ध्रुवराज थापा पुरुष, वासुदेव पौडेल, चेवन बस्नेत, मदन नेपाल, बद्रीनाथ पौडेल, विमल अर्याल, भगवान कोइराला, पुष्कर जङ्गम, म्हेन्डुप लामा, सन्तोषकुमार पोखरेल, आलोक चालिसे, रामकुमार पण्डित, कृष्ण आचार्य, अमर अधिकारी, रजनी बस्नेत, करुणा पोखरेल, यदुनाथ वसन्तपुरे, कृष्ण सुवेदी निराकार, रमेशप्रसाद खनाल, गीता बराल, बुद्धिप्रसाद तिमल्सिना र जमुना पोखरेलले खादा ओढाएका थिए।
त्यस्तै, केशव सान्दाइ, सुशील आचार्य, भलाद्मी भोला, अरुणा ढकाल, किशोर श्रेष्ठ, विजयध्वज थापा, श्रीप्रसाद पौडेल, प्रकाश बस्नेत ’गफाडी’, नारायणप्रसाद जोशी, कृष्णप्रसाद पौडेल ’जस्ताघरे’ र जयराम बिडारीले सास अर्पण गरि कार्यक्रममा सांस्कृतिक भावनाले भरपुर वातावरण बनाएका थिए।
कार्यक्रमका क्रममा वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेको सम्झनामा एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। सोही अवसरमा अटिजम विषयमा निर्माण गरिएको ‘अटिजम’ नामक फिल्म युट्युबमा सार्वजनिक गरिएको घोषणा पनि गरिएको थियो।
कार्यक्रमका सभापति शङ्कर भारती, कबाका सम्पादक तथा प्रकाशक निबन्ध आचार्य र कबा साहित्यकार उपचार कोषका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेले कबाको विगत, वर्तमान र भावी योजनाबारे प्रकाश पार्दै साहित्यिक यात्रामा सबैको साथ र सहकार्यको अपेक्षा गरे ।
कपन बानेश्वरका व्यवस्थापक विमल कोइरालाले सञ्चालन गरेको उक्त कार्यक्रममा करिब सय जना साहित्य अनुरागी, लेखक, पत्रकार तथा स्रष्टाहरूको उपस्थिति रहेको थियो।
कबा साहित्यिक साप्ताहिकको १३औँ वार्षिकोत्सवले नेपाली साहित्यिक मञ्चमा नयाँ ऊर्जा र उत्साह थपेको सन्देश दिएको सहभागीहरूका भनाइ थियो।



