पहिरोले गोरु गुमाएका केदारलाई कांग्रेस लिखु तामाकोशी गाउँपालिका ४ को सहयोग—एक हल गोरु घरमै पुगाएर हस्तान्तरण

रामेछाप — साउन ४ गते राति परेको अविरल वर्षासँगै आएको पहिरोले लिखु तामाकोशी गाउँपालिका–४, बिजुलिकोटका किसान केदार बस्नेतको गोठमा पुरेर एक हल गोरु मरेपछि उनी अत्यन्त चिन्तित बनेका थिए।

गोरु गुमाएपछि आफ्नो खेतबारी कसरी जोत्न सकिन्छ भन्ने चिन्ताले ग्रसित केदारसँग तुरुन्त नयाँ गोरु किन्न सक्ने आर्थिक सामर्थ्य पनि थिएन। एक हल गोरु किन्न कम्तीमा ४०–५० हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था थियो, तर उनको हातमा त्यति पैसा थिएन। यस्तो परिस्थितिमा उनी मानसिक तनावमा परेका थिए।

यसैबीच नेपाली कांग्रेस लिखु तामाकोशी गाउँपालिका वडा नं. ४ इकाई समिति र नेपाली कांग्रेस काठमाडौँ–लिखु तामाकोशी गाउँपालिका सम्पर्क समितिले केदारको अवस्था थाहा पाएपछि आपसमा समन्वय गरेर राहत स्वरूप नयाँ एक हल गोरु प्रदान गर्ने निर्णय गरे। करिब ५० हजार बराबरको गोरु केदारको घरमै पुगी एक कार्यक्रमबीच हस्तान्तरण गरियो।

यस कार्यको समन्वय नेपाली कांग्रेस काठमाडौँ सम्पर्क समितिका सभापति सुवास दाहालको नेतृत्वमा गरिएको थियो। गोरु हस्तान्तरण कार्यक्रममा कांग्रेस लिखु तामाकोशी गाउँपालिका वडा नं। ४ का इकाई सभापति तथा वडा अध्यक्ष दीपक पुलामी स्वयं उपस्थित थिए। उनले किसान बस्नेतको घरमै पुगेर गोरु हस्तान्तरण गरिएको जानकारी दिए।

सभापति पुलामीले भने, “किसानले गोरु गुमाएपछि सिजनमै खेत नजोत्ने अवस्था आयो भने वर्षभरिको जीविकोपार्जन नै संकटमा पर्छ। त्यो बुझेर हामीले मिलेर तत्काल राहत स्वरूप गोरु व्यवस्था गर्‍यौं।”

स्थानीय स्तरमा पार्टीको सामाजिक उत्तरदायित्वको अभ्यासस्वरूप गरिएको यो सहयोगले पीडित किसान मात्र होइन, समुदायका अरू किसानहरूलाई पनि राहतको अनुभूति गराएको छ। केदार बस्नेतले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै भने, “अब ढुक्क भएर खेत जोत्न सक्छु, गोरु बिना खेती गर्ने सपना त देख्नै सकिन्नथ्यो।”

यस घटनाले प्राकृतिक विपद्को बेला दलहरूले जनतासँगै उभिएर गरेको सहकार्य र सहयोगको राम्रो उदाहरण प्रस्तुत गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button