दोरम्बामा बगेको रगतको हिसाब कहिले हुन्छ ?

रामेछाप । नेपालको जनयुद्धकालीन इतिहासमा कालो अध्यायका रूपमा चिनिने दोरम्बा हत्याकाण्डलाई २२ वर्ष पुगेको अवसरमा शनिबार माओवादी केन्द्र रामेछापले मन्थलीमा शहीद स्मरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर सम्झेको छ ।
केन्द्रका जिल्ला अध्यक्ष कामानसिङ मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ ‘कुशल’ले दोरम्बा हत्या केवल युद्धको घटना नभई “दरबारकै निर्देशनमा गरिएको षड्यन्त्रपूर्ण नरसंहार” भएको दाबी गरे । उनले भने, “शाही दरबारले युद्धविराम र वार्तालाई विफल पार्ने उद्देश्यले सेनालाई प्रयोग गरेर सामूहिक हत्या गराएको थियो । तर परिवर्तनको बाटो कहिल्यै रोकिने होइन, शान्ति र न्यायको यात्रा अझै जारी छ ।”
श्रेष्ठले अहिले पनि समाजलाई अस्थिर पार्ने विभिन्न बहाना सिर्जना भइरहेको भन्दै “गणतन्त्र उल्ट्याएर राजतन्त्र ल्याउने कुरा दिवास्वप्न बाहेक केही होइन” भन्दै वर्तमान व्यवस्थाको रक्षा गर्ने जिम्मेवारी जनताकै काँधमा रहेको बताए ।
नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्कीले दोरम्बा हत्याकाण्डलाई जनयुद्धकै संवेदनशील मोड भएको स्मरण गर्दै भने, उहाँहरूको बलिदान मुलुक परिवर्तनकै लागि थियो । पीडित परिवारलाई न्याय दिलाउन अझ जिम्मेवारीपूर्वक लाग्नुपर्ने उनले माओवादी केन्द्रलाई सुझाव दिए ।
गणतन्त्र माथि अहिले आक्रमण भइरहेको छ, त्यसलाई परास्त गर्न जनता एकजुट हुनुपर्छ, राजतन्त्र समाप्त भएपछि मुलुकले विकास र स्थायित्वको बाटो समातेको नेकपा एमाले रामेछाप अध्यक्ष पुरुषोत्तम कडेरीयाले उल्लेख गरे । युद्धविरामकै बेलामा भएको दोरम्बा हत्यालाई “जघन्य अपराध” का रूपमा व्याख्या गर्दै शहीद परिवारलाई उचित सम्मान र न्याय सुनिश्चित गर्नु आजको प्रमुख आवश्यकता भएको पत्रकार महासंघ रामेछाप अध्यक्ष दीपक घिमिरेले धारणा राखे ।
२०६० साल साउन ३२ गते रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा बैठक बसिरहेका माओवादी नेताकार्यकर्तालाई तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लिएर सामूहिक हत्या गरेको थियो ।
शान्ति प्रक्रियामा पटक–पटक दोरम्बा काण्ड उठाइए पनि पीडित परिवारले अहिलेसम्म “न त न्याय, न त क्षतिपूर्ति” पाएका छन् । उनीहरूको गुनासो छ— राजनीतिक संक्रमण सकियो, तर न्याय पाइन ।
रामेछापमा आयोजित स्मरण कार्यक्रममा उठेका आवाजहरूले फेरि एकपटक प्रश्न तेस्र्यायो— दोरम्बामा बगेको रगतको हिसाब कहिले हुने हो ?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button