निःशुल्क पशु स्वास्थ्य शिविरबाट १८० किसान लाभान्वित

रामेछाप । पशु स्वास्थ्य सेवा प्रवद्र्धन र किसानलाई प्रत्यक्ष सहयोग गर्ने उद्देश्यसहित मन्थली नगरपालिका–१०, चनखुमा एक दिने निःशुल्क पशु स्वास्थ्य तथा परजीवी नियन्त्रण शिविर सम्पन्न भएको छ । शनिबार सम्पन्न शिविरमा १८० किसान लाभान्वित भएका छन् ।
नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसन जिल्ला कार्य समिति, रामेछापको आयोजनामा भएको शिविरमार्फत गाई, भैँसी, बाख्रा लगायतका पशुको स्वास्थ्य परीक्षण तथा परजीवी नियन्त्रण उपचार गरिएको थियो । सहसचिव सुमन गिरीका अनुसार उक्त शिविरमा ५३० भन्दा बढी पशु–वस्तुलाई औषधोपचार सेवा प्रदान गरिएको छ ।
त्यसैगरी, स्थानीय क्षेत्रमा रहेका ८५ भन्दा बढी कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएकाले जनस्वास्थ्य सुरक्षामा पनि यसले योगदान पु¥याएको आयोजकहरूले बताए ।
शिविरमा मन्थली नगरपालिकाको कार्यालय, पशु सेवा कार्यालय सिन्धुली, वडा कार्यालय चनखु लगायतका संस्थाहरूको सहकार्य रहेको थियो । किसानलाई पशु स्वास्थ्य परीक्षणलाई नियमित बनाउँदै परजीवी नियन्त्रणमार्फत उत्पादन वृद्धि गर्नुपर्नेमा आयोजकहरूले जोड दिएका छन् ।



