शतप्रतिशत (१००%) नतिजा हासिल गर्ने तामाकोसी बोर्डिङ सम्मानित

रामेछाप । शिक्षा दिवस २०८२ को अवसरमा तामाकोसी इङलिस बोर्डिङ स्कुलले विशेष सम्मान पाएको छ । शैक्षिक सत्र २०८१ मा राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (SEE) मा विद्यालयले शतप्रतिशत (१००%) नतिजा हासिल गर्न सफल भएपछि शिक्षा विकास तथा समन्वय इकाइ रामेछापले विद्यालयलाई सम्मान प्रदान गरेको हो ।
रामेछाप जिल्लामा सञ्चालनमा रहेका ९१ माध्यमिक विद्यालयमध्ये यस वर्ष उत्कृष्ट नतिजा ल्याउने १६ सामुदायिक विद्यालयसँगै तामाकोसी इङलिस बोर्डिङ स्कुल एक मात्र संस्थागत विद्यालयका रूपमा सम्मानित भएको छ । जिल्ला समन्वय प्रमुख चिना खड्का कार्की प्रमुख आतिथ्यतामा, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा र मन्थली नगरपालिकाकी उप–प्रमुख ईश्वरी बस्नेत विशेष आतिथ्यतामा तथा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नेत्रप्रसाद गजुरेलको अध्यक्षतामा सम्मान वितरण गरिएको थियो ।
विद्यालयले यस उपलब्धिलाई सम्भव बनाउन योगदान पुर्याउने विद्यार्थी, शिक्षक, सञ्चालक तथा अभिभावकप्रति आभार व्यक्त गरेको छ । निरन्तरको मेहनत र सहयोगले मात्र यस्तो सफलता सम्भव भएको विद्यालयका प्रिन्सिपल दीपक खड्काले उल्लेख गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
विद्यालयले यस सम्मानलाई प्रेरणाको स्रोतका रूपमा ग्रहण गर्दै उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई र शुभकामना व्यक्त गरेको छ ।