अलपत्र वृहत लिफ्ट खानेपानी आयोजना
रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ४ र ५ मा खानेपानी पु¥याउने उद्देश्यले सुरु गरिएको पम्पिङ खानेपानी आयोजना तीन वर्षदेखि अलपत्र छ । २०७८ असार २४ गत ६१ करोड ४९ लाख रुपैयाँमा सम्झौता भएको र २०८१ असारमा सम्पन्न गर्ने गरी सुरु गरिएको आयोजना अहिले पनि ५५ प्रतिशत मात्र भौतिक प्रगति भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रामेछापले जनाएको छ।
तामाकोसी नदीबाट पानी लिफ्ट गरी करिब २ हजार ४ सय घरधुरीमा खानेपानी पु¥याउने लक्ष्यका साथ सुरु गरिएको आयोजनाले सुरुवाती दिनमा स्थानीयवासीमा ठूलो आशा जगाएको थियो। तर, लामो समयसम्म निर्माण सुस्त गतिमा अघि बढ्दा उत्साह निराशामा बदलिएको छ।
शर्मा–सगुन जेभीले ठेक्का पाएको यस आयोजना संघीय खानेपानी मन्त्रालयको खानेपानी विभागमार्फत सञ्चालित भएको हो। मन्थली नगरपालिका–५ का वडा अध्यक्ष रविन कार्कीका अनुसार आयोजनामा सुरुमा सर्भेअनुसार पाइप बिछ्याइएको भए पनि पछि सहजताको नाममा अन्यत्रैबाट पाइप गाडिएको छ। उनले भने, “माटोमुनी पाइप गाड्दा आवश्यक सुरक्षा अपनाइएन। अहिले पाइप खिया लागेर प्रयोगै नहुने अवस्थामा पुगेका छन्। काम गर्नुपर्ने बेला ढिलाइ भयो, गुणस्तरहीन सामग्री प्रयोग भयो, र मापदण्ड उल्लङ्घन भयो।”
मन्थली नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राजन घिमिरे यो आयोजना अलपत्र हुनुको प्रमुख कारण संघीय खानेपानीको कार्यालय भएको बताउँछन् । उनि भन्छन् ’यो बृहत लिफ्ट खानेपानी आयोजना अलपत्र हुनुको प्रमुख कारण नै संघीय खानेपानीको कार्यालयको लापरवाही हो ।’ कार्यालयले ठेकेदार कम्पनीसँग कुनै समन्वय समेत नगरेको र कार्यालयका हाकिमसँग पटकपटक भेट्न खोज्दा पनि भेट नदिई आयोजना अलपत्र पारेको उनको भनाई छ।
स्थानीयवासीले आयोजना अलपत्र हुँदा खानेपानी अभाव झन् बढेको गुनासो गर्दै आएका छन्। मन्थली–५ की जसना बुढाथोकी भन्छिन्, “घरमै धारा खोल्दा पानी आउँछ भन्ने सपना देखेका थियौं, तर अहिले पनि गाग्री बोकेर खोला धाउन बाध्य छौं।”
संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रामेछापका प्रमुख रामजेन्द्र प्रसाद श्रेष्ठले आयोजना अधुरो हुँदा स्थानीयमा निराशा बढेको स्वीकार गरे। उनले भने, “स्थानीयको जीवनस्तर सुधार गर्ने सपना बोकेको आयोजना छिट्टै सम्पन्न गर्न पहल भइरहेको छ। ठेकेदारलाई बारम्बार सचेत गराइएको छ।”
तर स्थानीयवासी भने यो जवाफलाई अब विश्वास गर्न सक्ने अवस्थामा छैनन्। उनीहरूका अनुसार तीन वर्षदेखि यही आश्वासन दोहोरिँदै आएको छ।
आयोजनाको दोस्रो पटक थपिएको म्याद यही असोजमा सकिँदै छ। तर काम अझै कछुवाको गतिमा छ। संघीय खानेपानी कार्यालयका अनुसार ५५ प्रतिशत भौतिक प्रगति भइसके पनि बाँकी कामको लागि आवश्यक गतिमा काम भएको छैन।
वडा अध्यक्ष कार्की भन्छन्, “यो गतिमा योजना अझै दुई वर्ष लाग्ने देखिन्छ। तर स्थानीयको धैर्यता अब सकिँदैछ। यदि म्याद सकिँदा पनि काम सम्पन्न भएन भने हामी सडकमा ओर्लन बाध्य हुनेछौं।”
करोडौँ रुपैयाँ खर्चिए पनि बस्तीमा खानेपानीको समस्या जस्ताको तस्तै छ। स्थानीयले बाल्टिन र गाग्री बोकेर टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता झन् कष्टकर बन्दै गएको गुनासो गरेका छन्।
स्थानीय ध्रुवप्रसाद सुवेदी भन्छन्, “हामीले यस आयोजना मार्फत खानेपानी मात्र होइन, हरेक वर्ष म्याद थपिँदा धैर्य थप्ने कला पनि सिकेका छौं। तर अब धैर्यता पनि सकिँदै छ।”
आयोजना सम्पन्न भएपछि स्थानीयको जीवनस्तरमा ठूलो सुधार हुने अपेक्षा गरिएको छ। तर काम समयमा सकिने कि नहुने भन्ने अनिश्चितताले मन्थली नगरपालिका वडा नम्बर ४ र ५ का बासिन्दा चिन्तित र निराश छन्।



