Trending

कोशी ब्यारेजका ५६ ढोका खोलिए

धरान (सुनसरी), १९ असोज : अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५६ ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव ४,३१,५२५ क्यूसेक पुगेपछि ब्यारेजका ५६ ढोका खोलिएको जानकारी दिए ।

शनिबार बेलुका ८ः०० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो । गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो । यसपछि लगातार पानीको वहाव घटेको थियो ।

शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिए ।नदीले खतराको सतह पार गरेपछि ५६ वटै ढोका खुल्ला गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। अविरल वर्षाका कारण सप्तकोशीमा जलसहत पार गरेको छ।

कोशी क्षेत्र आसपास बस्ने बासिन्दालाई उच्च सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ। बिहान ९ः१५ बजे कोशीमा ४,३१,५२५ क्यूसेक मापन गरिएको छ। नदीमा बहाव बढ्दो अवस्थामा रहेकाले अति उच्च जोखिमपूर्ण अवस्था रहेको सुनसरी प्रशासनले जनाएको छ।

सप्तकोसी आसपासका सबै बासिन्दालाई पूर्ण सतर्कता अपनाउन आग्रह गरिएको र अति आवश्यक कामबाहेक बाहिर ननिस्किन आग्रह गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए।

उनका अनुसार चतरास्थित कोशी नदीमा बाढीले खतराको तह पार गरेको छ। हाल बढ्दो क्रममा रहेकोले खोला किनार र डुबान भइरहने होचो ठाँउका बासिन्दा सोमवार बिहानसम्मै उच्च सतर्कताका साथ सुरक्षित ठाँउमा रहन उनले आग्रह गरे।

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार अहिले कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button