सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापले पायो आफ्नै भवन

रामेछाप । तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, रामेछापको भवन उद्घाटन भएको छ । तामाकोसी सेवा समिति परिसरमा निर्माणाधिन भवन भिजन हिमालय फाउण्डेसन, स्विजरल्याण्ड र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको संयुक्त लगानीमा निर्माण गरिएको हो । नवनिर्मित दुई तले भवनको उद्घाटन (आज) बिहिबार भिजन हिमालय फाउण्डेसन, स्विजरल्याण्डका उपाध्यक्ष डा. रोमन ग्रेम्जरले गरे ।
अब तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापकोे सबै सेवाहरु नयाँ भवनबाट सुचारु हुनेछ । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँ र तामाकोशी सेवा समितिको सहकार्य र क्योर ब्लाईन्डनेस प्रोजेक्टको सहयोगमा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछाप संचालनमा रहेको छ । करिब डेढ करोडमा बनेको भवनको ५५ प्रतिशत भिजन हिमालय फाउण्डेसनको र बाकीँ लगानी सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको रहेको केन्द्र रामेछापका अध्यक्ष डा. सुमन कर्माचार्यले जानकारी दिए ।
उद्घाटन अघि आयोजित पत्रकार सम्मेलनमा डा. रोमन ग्रेम्जरले सन् १९९६ मा पहिलोपटक नेपाल आएको स्मरण गर्दै त्यस यता तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्यमा विभिन्न स्थानमा आँखा उपचार शिविर सञ्चालन गर्दै आएको बताए । ग्रेम्जरले फाउण्डेसनले नेपालको दुर्गम क्षेत्रका समुदायमा आँखा स्वास्थ्य सेवा पु¥याउने लक्ष्यका साथ निरन्तर सहयोग गरिरहेको जानकारी दिएका थिए ।
तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम संयोजक डा. मोहनकृष्ण श्रेष्ठले रामेछापमा तामाकोसी सेवा समितिसँगको साझेदारीमा २४ वर्षदेखि आँखा उपचार सेवा प्रदान गर्दै आएको जानकारी दिए । श्रेष्ठले २४ वर्षको अवधिमा रामेछापमा मात्र एक लाखभन्दा बढी बिरामीले तिलगंगा प्रतिष्ठानको सेवाबाट लाभान्वित भएको जानकारी दिए । डा. श्रेष्ठका अनुसार काठमाडौं बाहिर नुवाकोट र धादिङपछि रामेछापमा बनेको यो तेस्रो स्थायी आँखा सर्जिकल भवनको माथिल्लो तला बाट शल्यक्रिया सेवा मात्र दिने छ ।
श्रेष्ठका अनुसार तिलगंगा आखा प्रतिष्ठान केन्दको शाखा २६ वटा आखा उपचार केन्द्र छन् जसमा १४ सर्जिकल सामुदायीक आखा उपचार केन्द्र (शल्यक्रिया समेतको सेवा) र १२ वटा सामुदायिक आखा केन्द्र (सामान्य उपचार) संचालनमा रहेका छन् ।
प्रतिष्ठानले आँखा स्वास्थ्यका क्षेत्रगत कार्यक्रम अन्तर्गत दृष्टिविहीनता निवारण, आँखाको रोग पहिचान, शल्यक्रिया, प्रशिक्षण, समुदायस्तरको जनचेतना, अनुसन्धान र सामाजिक साझेदारी लगायतका मुख्य ६ वटा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
नयाँ भवनले जिल्लामा गुणस्तरीय आँखा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने छ । आँखा केन्द संचालनमा आएदेखी रामेछाप लगायत छिमेकी जिल्लाहरुका बिरामीले सहज रुपमा सेवा पाउँदै आएका छन ।





