सुनापति गाउँपालिका अध्यक्ष कपमा आयोजक र मुगिखोला युवा क्लब मन्थली फाइनलमा पुगे

रामेछाप- जिल्लाको सुनापति गाउँपालिमा आयोजित चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समिति र मुगिखोला युवा क्लब मन्थली फाइनलमा पुगेका छन् । मंगलबार भएको सेमी फाइनलको खेलमा जित नजिक दुई टिम फाइनलमा पुगेका छन् ।
सेमी फाइनल अन्तरगतको पहिलो खेलमा मुगीखोला युवा क्लबले बेथान युवा समाजलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । मुगिखोला युवा क्लबले बेथान युवा समाजलाई सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै सेमी फाइनलको दोस्रो खेलमा आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समितिले जि एन ई बि एस माकादुमलाई पराजित गरेपछि फाइनलमा पुगेको हो । आयोजक टिमले पनि जि एन ई बि एस माकादुमलाई सोझो सेटमा हराएको थियो । सेमी फाइनलको खेल अघि क्वाटर फाइनलका चार खेल पनि मंगलबार नै भएका थिए ।
फाइनल खेल बुधवार गरिने सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले बताए । केसीका अनुसार बुधवार फाइनल खेलबाट प्रथम र द्वितीय हुने टिमको टुंगो लाग्ने छ भने सेमी फाइनलमा पराजित भएका दुई टिम बिच पनि तृतीय र सान्तवनाको लागि प्रतिस्पर्धा हुने छ । बुधवार हुने खेल बिहान ८ बजेदेखि नै सुरु गरिने आयोजक खेलकुद विकास समितिले बताएको छ ।
सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको प्रथम हुने टिमले १ लाख ५० हजार, दोस्रो हुने टिमले १ लाख, तेस्रो हुने टिमले ५० हजार र सान्त्वना हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार जित्ने छन् । त्यसै गरी उत्कृष्ट खेलाडीले नगद ५ हजार पुरस्कार पाउने छ ।
आइतबारदेखि सुरु भएको प्रतियोगितामा समाज कल्याण मगर समाज, सुर्योदय समाज सेवा, मैरे सुनापति २, मण्डन देउपुर नगरपालिका काभ्रे, लामाज ग्रुप, आरवि सप्लायर्स कामा, सुनापति गाउँपालिका खेलकुद विकास समिति, मुगिखोला युवा क्लब भटौली, बेथान युवा समाज, सुनापति ५ र जिएनइविएस गरी ११ टिमले भाग लिएका थिए ।


