Trending

काटेको धान भिजेपछि चिन्तामा किसान

रामेछाप । “धान काटेर भित्र्याउने बेला आयो, तर पानीले सारा आशा बगायो,” मन्थली नगरपालिका–७ का किसान गोरे माझी भिजेको धानतिर हेरिरहेका थिए, उनका आँखामा निराशाको छायाँ थियो । खेतमा काटेर राखेको धान भिजेपछि उनी जस्तै गाउँभरका किसानको मन पनि भिजेको छ । तिहार सकिएलगत्तै सुख्खा मौसमको आसमा धान काट्ने हिम्मत गरेका उनीहरूलाई बुधवारदेखि परेको अविरल वर्षाले निराश बनाएको छ ।
बिहान–बेलुकी खेतको गरामा पसिना बगाएर फलाएको धान अहिले भिजेर कामै नलाग्ने होला जस्तो भएको छ । “गत वर्ष असोजमा बाढी आयो, त्यसले पनि धान खेर गयो, यसपालि त काटिसकेको धान नै पानीले भिजायो,” उनले दुखेसो पोख्दै भने, “जुन आशामा घरभरका मान्छेले काम ग¥यौं, त्यो आशा झरीले धराशायी बनाईदियो।”
उनका अनुसार यसपालि धान राम्रो फलेको थियो, खेतभर सुनझैं चम्किएका धानका दानाले गाउँको मुहार उज्यालो बनाएको थियो । सबै किसानले उत्साहका साथ धान काटेका थियौँ घर भित्र्याउने तयारीमा । तर बुधवार देखि परेको पानीले खेतमै सबै परिश्रम भिजाइदियो , माझीले बताए ।
मन्थलीका अन्य फाँटहरू, खिम्ती, कुनाउरी, माडिफाँट, भटौली लगायतका सबै ठाउँमा अहिले एउटै दृश्य छ । काटेर खेतका गह्रामा फिँजाईएका धान खेतमै उम्रेला जस्तो भएको छ, किसानका अनुहारमा चिन्ताको रेखा छ ।
त्यो दृश्य हेर्दा मन्थली नगरपालिका वडा नं. ६ की किसान विमला ढुङ्गेल पनि भावुक भइन् । “गत वर्षको धान बाढीले खेर गयो, यसपालि भिजेर गयो, अब किसानले बाँच्ने आधार नै हरायो,” उनले भनिन् । उनको खेतमा पनि काटिएको धान भिजेको छ । उनले भनिन्, “धान सुकाउन ठाउँ छैन, वरिपरि हिलो मात्रै छ ।”
मन्थली–७ की अर्की किसान सरिता ढुङ्गेलले पनि आफ्ना खेतमा काटिसकेका धान भिजेपछि चिन्ता व्यक्त गरिन् । “मौसम प्रतिकूल हुने कुरा थाहा थियो, तर पानी पर्ने बेलासम्म भित्र्याइहाल्छौं भन्ने विश्वासले काटेका थियौं,” उनले भनिन्, “धान बाँध्दै गर्दा पानी प¥यो, अब त मुठा पनि सड्ने डर भयो।”
धान भिजेपछि त्यसको गुणस्तर घट्ने र बजार मूल्य समेत घट्ने डर किसानलाई सताएको छ । यसपालि भिजेको धान बिक्री गर्न झन् समस्या हुने कृषकहरूको चिन्ता छ । “धान सुकाएर राख्न पाए केही जोगिन्थ्यो, तर यो पानीले त बालीको स्वरूप नै बिगारिदियो,” ढुङ्गेलले भनिन, “कति मुठा त अब दाना निकाल्न पनि सकिँदैन।”
“हाम्रो कृषि प्रणाली अझै मौसममा निर्भर छ । किसानले न त पर्याप्त भण्डारणको सुविधा पाएका छन्, न त समयमै मौसमको पूर्वानुमान अनुसार सहयोग ।” उनका अनुसार यस्तो विपद्मा किसानलाई तत्काल राहत र दीर्घकालीन समाधान दुवै आवश्यक छन् । “धान भिजेपछि त्यसको मूल्य घट्छ, त्यसैले सरकारले बजार मूल्यको क्षतिपूर्ति दिने, बीमा योजना प्रभावकारी बनाउने र खेतमै सुकाउने प्रविधि उपलब्ध गराउनुपर्ने बेला आएको स्थानीय कृषक तथा स्थानीय समाजसेवी रामचन्द्र कंडेलले बताए ।
कंडेलका अनुसार जलवायु परिवर्तनले वर्षा चक्रमा अस्थिरता ल्याएको छ । पहिले असोजको अन्त्यसम्म भित्र्याइने धान अहिले कात्तिकको वर्षामा फँस्ने गरेको छ । “हाम्रो कृषि परम्परा अझै पुरानो ढाँचामा छ, तर मौसम बदलिएको छ,” उनले भने, “अब हामीले खेती प्रणाली पनि नयाँ सोचका साथ पुनः परिभाषित गर्नुपर्ने अवस्था आएको छ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button