Trending

जिल्लामा पहिलो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापती गाउँपालिकामा सुरु

रामेछाप– सुनापति गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विभिन्न खेल बिधा अन्तरगत रहेर गाउँपालिका भित्रका मावि तहमा अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि सुरु भएको हो । सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले सात वर्ष देखि संचालन हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको खेलकुद प्रति रुची बढाउन, शारीरिक र मानसिक रूपमा समेत विकास पुग्ने विश्वास व्यक्त गरे । उनले खेलकुदको माध्यमबाट गाउँपालिकाको प्रतिष्ठा बढाउने र सामाजिक एकता कायम गर्नमा समेत सहयोग पुग्ने धारणा राखे । अध्यक्ष तामाङले गाउँपालिकालाई खेलकुदको माध्यमबाट चिनाउन विभिन्न खेलकुदको आयोजना गर्दै आएको र आगामी वर्ष हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापति गाउँपालिकाले गर्ने घोषणा पनि गरे । त्यस्तै उपाध्यक्ष गिता विष्टले सुनापति गाउँपालिकाले खेलकुदको क्षेत्रमा भएको लगानीले प्रतिफल दिँदै गएको र युवाहरू खेलकुदमा आकर्षित हुँदै गएको भनाइ राखिन् । उनले सुनापति गाउँपालिकालाई खेल पर्यटनको रूपमा विकास गर्ने गरी काम र प्रतियोगिताहरू भइरहेको बताइन् । 
प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले प्रतियोगिताको पहिलो संस्करणदेखि सातौँ संस्करण सम्ममा आइपुग्दा विद्यार्थीमा खेल प्रतिको लगाव र प्रदर्शनले सुनापतिमा खेलकुदको विकास दिगो रूपमा अगाडि बढेको प्रमाणित हुँदै गएको धारणा राखे । 
त्यस्तै कार्यक्रममा सुनापति गाउँपालिका वडा नं १ का वडाध्यक्ष ध्रुब चौलागाई, वडा नं ४ का वडाध्यक्ष डन्डुप लामा, वडा नं ५ का वडाध्यक्ष चित्र बहादुर मानन्धर लगायतले प्रतियोगिताको शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगितामा सहभागी अतिथि, विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय लगायतलाई सुनापति गाउँपालिका खेलकुद विकास समितिका उपाध्यक्ष सोम तितुङले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए । 
उद्घाटन पश्चात् मार्च पास र नृत्य प्रतियोगिता भएका थिए भने एथलेटिक्स, भलिबल, कबड्डी लगायतका खेल विधाका केही खेलहरू पनि सम्पन्न भएका छन् । आइतबार भलिबल अन्तरगत पुरुष तर्फ पहिलो खेल कृष्णपुरी मावि र अग्लेश्वर मावि बिच भएको छ । खेलमा अग्लेश्वरले जित हासिल गरेको छ । कबड्डी अन्तरगत महिला तर्फ सतलिङ्गेश्वर मावि र कृष्णपुरी मावि बिच प्रतिस्पर्धा भएको छ । दुई विद्यालयबिचको प्रतिस्पर्धामा कृष्णपुरी माविले जितेको छ । त्यस्तै एथलेटिक्स विधा अन्तरगत महिला र पुरुष तर्फका ज्याब्लिङ थ्रो, सट फुट र लङ जमका खेलहरू समेत सम्पन्न भएका छन् ।
प्रतियोगितामा गाउँपालिकाका ९ ओटा माविहरू सहभागी भएको समितिका सचिव दिनेश नेपालीले बताए । नेपालीका अनुसार ९ ओटा विद्यालयका विद्यार्थी खेलाडीहरूले २० स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्ने छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button