क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माण सुरु

काभ्रेपलाञ्चोक । लगातारको बाढी–पहिरोले बारम्बार क्षतिग्रस्त हुँदै आएको बिपी राजमार्गको स्थायी पुनःनिर्माण सुरु गरिएको छ। देशको पूर्वी तथा मध्यपहाडी भूभागलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो र रणनीतिक मार्गका रूपमा रहेको यस राजमार्गका सबैभन्दा बढी क्षति पुगेका काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा तीन स्थानबाट एकैसाथ स्थायी संरचना निर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
गत वर्ष असोज दोस्रो सातादेखि यो वर्षको असोज तेस्रो सातासम्म परेको भीषण वर्षा र पहिरोले काभ्रे र सिन्धुली खण्डमा करिब ३० किलोमिटर सडक ठाउँ–ठाउँमा बगाएको थियो। तत्कालीन परिस्थितिमा अस्थायी मर्मतमार्फत सञ्चालनमा ल्याइएका ती खण्डहरू अहिले स्थायी संरचना निर्माणतर्फ उन्मुख भएको कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार काभ्रेपलाञ्चोकतर्फका तीन क्षतिग्रस्त स्थान—चौकीडाँडा, मङ्गलटार र नार्के–गिम्दी क्षेत्रबाट पुनःनिर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। यी तीनवटै प्रमुख खण्डका लागि ठेक्का सम्झौता भइसकेको र काम दु्रत गतिमा अघि बढाइएको उनको भनाइ छ।
ठेक्काले तोकेको अनुसार तीन मुख्य खण्डको स्थायी पुनःनिर्माण दुई वर्षभित्र सक्ने लक्ष्य छ। यसपटक पुनःनिर्माणसँगै राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको आधुनिक संरचना निर्माण गरिने योगेशले बताए। “पुनःनिर्माणपछि सम्पूर्ण सडक दुई लेनको हुनेछ। हाल रहेका पुलसँगै थप पुल निर्माण गरी पूर्णरूपमा दुई लेनका पुलसमेत तयार गरिनेछ,” उनले भने। पाँच पुललाई दुई लेनमा परिणत गर्ने सम्भाव्यता अध्ययन अहिले तीव्र गतिमा भइरहेको उनले जानकारी दिए।
डालाबेँसी–चारसयबेँसी (८.५ किमी) सडक पुनःनिर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु १ अर्ब ४२ करोड ३७ लाखमा ठेक्का पाएको छ। सोही खण्डपछिको चारसयबेँसी–भकुन्डेबेँसी (११.०८ किमी) पुनःनिर्माण लामा–नवकान्तिपुर जेभीले रु १ अर्ब ३३ करोड ५३ लाखमा निर्माण गर्नेछ। नेपालथोक–बर्खेखोला (४.९० किमी) खण्ड भने रु ६१ करोडमा खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीले पुनःनिर्माण गर्दैछ।
क्षतिग्रस्त कूल २९.५ किमीमध्ये बर्खेखोला–पिप्ले (३.२ किमी) खण्ड जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरिदिने भएको छ। करिब रु २ अर्ब ६३ करोड बराबरको अनुदान सहयोगस्वरूप उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भइसकेको कार्यालयले जनाएको छ। जाइकाले बनाउने खण्डबाहेकका सबै भागमा सरकारले गत असोजअघि नै ठेक्का प्रक्रिया सम्पन्न गरिसकेको छ।
इञ्जिनियर योगेशका अनुसार सबै पुनःनिर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ। “मङ्सिरको सुरुदेखि नै स्थायी पुनःनिर्माणलाई प्राथमिकता दिँदै काम सुरु गरिएको हो। स्रोतमाथि कुनै चुनौती छैन,” उनले भने। काभ्रे–सिन्धुली खण्ड पुनःनिर्माणका लागि सरकारले कुल रु ८ अर्ब ५० करोड स्रोत सहमति दिएको छ। काभ्रेपलाञ्चोकका तीन खण्डका लागि रु ७ अर्ब ५० करोड र सिन्धुलीका एक खण्डका लागि रु १ अर्ब विनियोजन गरिएको छ।
जापान सरकारको अनुदान सहयोगमै आर्थिक वर्ष २०५३÷५४ बाट सुरु गरिएको बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी) निर्माण कार्य २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। काठमाडौँलाई मध्यपहाडी क्षेत्र हुँदै पूर्वी नेपालसँग जोड्ने छिटो, सुरक्षित र भरपर्दो मार्गका रूपमा यस राजमार्गलाई राष्ट्रिय मार्ग विस्तार र पूर्वाधार विकासको मेरुदण्ड मानिन्छ।
लगातारका प्राकृतिक प्रकोपका कारण कमजोर बनेका खण्डहरूको स्थायी पुनःनिर्माण आरम्भ भएसँगै बिपी राजमार्ग फेरि भरोसायोग्य र दीर्घकालीन संरचनाका रूपमा फर्कने अपेक्षा गरिएको छ।



