Trending

एमाले रामेछापको महाधिवेशन प्रतिनिधि छनोटमा सहमतिको प्रयास जारी

रामेछाप । नेकपा एमाले रामेछापबाट ११ औँ राष्ट्रिय महाधिवेशनका लागि जाने प्रतिनिधि सहमतिबाट छनोटका प्रयास जारी राखेका छन् । एमालेले सहमतिको लागि आन्तरिक छलफललाई तीब्र बनाएको छ । एमाले स्रोतकाअनुसार महाधिवेशन प्रतिनिधि छनोटका लागि सहमतिको नजिक पुगेको बताइएको छ । जिल्ला निर्वाचन कमिटीले निश्चित गरेको कार्यतालिका अनुसार मङ्गलवार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता खुला गरिएको थियो, जसमा ६७ जनाले प्रतिनिधि चयनका लागि उम्मेदवारी दर्ता गराएका थिए ।
आगामी मंसिर २७ देखि २९ गते काठमाडौँमा हुने महाधिवेशनमा रामेछापका तर्फबाट १२ जना प्रतिनिधि जानेछन् । १२ सिटमध्ये महिला, उत्पीडित, युवा र खुलातर्फ छुट्टै कोटा राखिएको छ । यसपालि खुलातर्फ ६ जना, महिलातर्फ ४ जना, उत्पीडित वर्गबाट १ जना र ४० वर्षमुनिका युवा तर्फ १ जना चयन हुने छन् ।
निर्वाचन प्रक्रिया अनुसार दाबी–विरोध तथा छानबिन मंसिर १० गतेसम्म तोकिएको थियो भने मंसिर ११ गते अन्तिम नामावली सार्वजनिक गर्ने तालिका रहेको छ । मतदान मंसिर १३ गते बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने निर्वाचन तालिकमा उल्लेख छ ।
जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम कडरियाका अनुसार पार्टीका अधिकांश सदस्य सहमतिमार्फतै प्रतिनिधि तय गर्न चाहन्छन् । यही कारण अहिले विभिन्न तहमा छलफल घनिभूत भएको छ । उनका अनुसार सहमतिको प्रयास अन्तिम चरणमा पुगेको छ र सम्भवतः बिहीबारसम्म सहमति तय हुने सम्भावना बलियो छ । यदि अन्तिम घडीसम्म पनि सहमति नजुटे मात्रै चुनावी प्रक्रियामा जाने स्पष्ट संकेत अध्यक्ष कडरियाले गरेका छन् ।उनका अनुसार, “सदस्यहरूको चाहना सहमति नै हो । हामी सकेसम्म सहमतिमै निकास खोज्दैछौँ ।” रामेछापको एमाले भित्रको यो सहमतिको प्रयास सफल हुन्छ वा मतदानसम्म धकेलिन्छ—आजसम्म थाहा हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button