एकताबद्ध कांग्रेसले मुलुकका समस्या समाधान गर्छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले एकताबद्ध कांग्रेसले नै मुलुकका जटिल समस्या समाधान गर्न सक्ने बताएका छन्। नेपाली कांग्रेस मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी वडा इकाइ समितिद्वारा बेतिनीमा आयोजित अगुवा कार्यकर्ता भेला तथा सम्मान कार्यक्रममा बोल्दै उनले पार्टीभित्र मजबुत एकता आवश्यक रहेको जोर दिए।
“देश चुनावमा गएको छ, कांग्रेसभित्र पनि चुनाव हुँदैछ। अब आन्तरिक विवादमा रुमल्लिनु हुँदैन,” मुख्यमन्त्री बानियाँले भने, “योग्य व्यक्तिलाई टिकट दिइनेछ। टिकट नपाएको कारण अन्तरघातमा लाग्नुहुँदैन, यसले पार्टी कमजोर बनाउँछ।”
लोकतन्त्रका लागि भएका सबै प्रमुख संघर्षमा कांग्रेसले नेतृत्व गरेको स्मरण गर्दै बानियाँले अब आर्थिक समृद्धिको नेतृत्व पनि कांग्रेसले गर्नुपर्ने धारणा राखे। २००७ को प्रजातान्त्रिक आन्दोलन, ३० वर्षे पञ्चायती शासनको अन्त्य र माओवादी द्वन्द्व समाप्तिमा कांग्रेसको भूमिकाको चर्चा गर्दै उनले मुलुकको हितका लागि सदैव कांग्रेस अग्रसर रहेको उल्लेख गरे।
जनताको सेवाका निम्ति कांग्रेस गठन भएको बताउँदै उनले कांग्रेस नेता–कार्यकर्तालाई जनतामाझ गएर जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए। साथै, मकवानपुर–ललितपुर जोड्ने मोटरेबल पुल निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत जनाए।
कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले कांग्रेस सबैलाई समेट्न सक्ने पार्टी भएको भन्दै जनतालाई भेदभावरहित सेवासहित विकासको नेतृत्व कांग्रेसले गर्ने दाबी गरे। बाटो, पुललगायतका भौतिक पूर्वाधार निर्माणका सपना कांग्रेसले नै पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए।
कार्यक्रममा ४० जना अगुवा कार्यकर्तालाई सम्मान गरिएको थियो। कार्यक्रममा कांग्रेस जिल्ला सहसचिव इन्दिरा न्यौपाने, क्षेत्रीय सभापति दामोदर खनाललगायतको सहभागिता रहेको थियो।


