नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की निर्वाचित

जनकपुर । नेपाल जेसिजको २०२६ कार्यकालका लागि राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की निर्वाचित भएका छन् । जनकपुरमा सम्पन्न निर्वाचनमा तीन जना प्रतिस्पर्धीलाई पराजित गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचनको अन्तिम मत परिणाम अनुसार कार्कीले ५१२ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी विजय गुरुङले ४६२ मत ल्याए भने लक्ष्मी रश्मि शिल्पाकारले १४७ र राजा राम गौतमले ८३ मत प्राप्त गरेका थिए ।
यसअघि भएको निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका कार्की दोस्रो प्रयासमा सफल हुँदै संगठनको नेतृत्वमा पुगेका हुन् । निर्वाचनपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष कार्कीले नेपाल जेसिजभित्र एकता, सहकार्य, पारदर्शिता र समावेशिता मजबुत बनाउने आफ्नो प्राथमिकता रहने बताए ।
उनले युवा, महिला तथा विभिन्न अध्यायहरूको सक्रिय सहभागितामार्फत संगठनलाई अझ प्रभावकारी र भविष्य–उन्मुख बनाउने लक्ष्य रहेको उल्लेख गरे । राष्ट्रिय अध्यक्षमा कार्की निर्वाचित भएसँगै रामेछाप जिल्लामा समेत खुसीको माहोल सिर्जना भएको छ ।



