परिवर्तनको एजेन्डा सहित ‘नयाँ शक्ति’को आवश्यकता

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा उज्यालो नेपाल अभियानका संरक्षक कुलमान घिसिङले मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेही नेतृत्व स्थापनाका लागि नयाँ राजनीतिक शक्ति उदय हुनु अपरिहार्य भएको धारणा राखेका छन्। लोकतन्त्रको निरन्तरतासँगै पनि जनजीवनमा अनुभूत हुने परिवर्तन कमजोर बनेको र नेतृत्वको अकर्मण्यता झनै गहिरिँदै गएको अवस्थामा नयाँ वैकल्पिक शक्ति देशको आवश्यकता बनेको उनको भनाइ छ।
आइतबार रामेछाप सदरमुकाममा आयोजित उज्यालो नेपाल पार्टीको प्रथम भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले अहिलेको राजनीतिक व्यवस्थाले अपेक्षित परिवर्तन दिन नसकेकाले नागरिकले नयाँ बाटो रोजिरहेका संकेत देखिन थालेको जनाए। “विगतका राजनीतिक ढाँचाले देशलाई उकास्न सकेन। यो देश परिवर्तनमुखी नेतृत्व खोजिरहेको छ,” उनले भने।
उनका अनुसार उज्यालो नेपाल पार्टीले यिनै अपेक्षालाई सम्बोधन गर्दै देशव्यापी अभियान अघि बढाएको र मुलुकलाई समृद्धिदिशा तर्फ उन्मुख गराउने रणनीति बनाइरहेको छ। “देशभर देखिएका समस्या, विषमता र अव्यवस्था समाधान गर्न नयाँ सोच, नयाँ लक्ष्य र नयाँ नेतृत्व आवश्यक छ। अबको दिशा परिवर्तन र सुशासनकै हो, जसको नेतृत्व उज्यालो नेपाल पार्टी निःसंकोच लिन चाहन्छ,” उनले जोड दिए।
रामेछाप केन्द्रित गतिविधि बढी हुनु पार्टीका लागि उत्साहजनक रहेको उल्लेख गर्दै मन्त्री घिसिङले जिल्लाको जनभावनासँग मेल खाने नेतृत्व निर्माण गर्न आफू तत्पर रहेको बताए। ३ महिनाअघि स्थापना भएको पार्टीले रामेछापमा संगठन विस्तारसँगै निर्वाचन लक्ष्यित अभियानलाई सक्रिय बनाउँदै लैजाने बताएका छन्।
रामेछापको देवकोटा चोकमा पार्टी कार्यालय उद्घाटन गरेपछि मन्त्री घिसिङ जिल्ला समन्वय समितिको सभाहल पुगे। त्यहाँ उनले अधिकारीहरूसँग जिल्लाको प्रशासनिक अवस्था, निर्वाचन तयारी र सार्वजनिक सेवा प्रभावकारिताबारे छलफल गरे। सरकारी संयन्त्रलाई निष्पक्षता, जवाफदेहीपन र जनमुखी सेवामा ध्यान केन्द्रित गर्न आग्रह गर्दै उनले निर्वाचन पूर्व तयारीमा उच्च सतर्कता अपनाउन निर्देशनसमेत दिए।
उनले तीनलाल पार्कस्थित शहीद स्मारक पुगेर माल्यार्पण गर्दै शहिदहरूको सम्झनालाई देश विकासको प्रेरणास्रोतको रूपमा सम्बोधन गरे। शहिदहरूको बलिदानले नै परिवर्तनको बीउ रोपेको उल्लेख गर्दै उनले त्यो सपना परिष्कृत सुशासनमार्फत व्यवहारमा उतार्न आवश्यकता रहेको बताए।
कार्यक्रममा मन्त्री घिसिङले जनताले वैकल्पिक राजनीतिक विकल्प खोजेको दाबी पनि गरे। “देशमा बढेको निराशा र अविश्वासले नागरिकलाई नयाँ शक्ति चाहिएको छ भन्ने स्पष्ट संकेत मिलेको छ। पुराना शक्ति संरचनाले निर्माण गरेको वातावरण हटाउन वैकल्पिक नेतृत्व अपरिहार्य छ,” उनले भने।
विगतमा उज्यालो नेपाल अभियानमार्फत जनभरोसा जितिएको दाबी गर्दै उनले रामेछापले पनि यस अभियानलाई निर्णायक रुपमा सफल बनाउन भूमिका खेल्ने आशा व्यक्त गरे। उज्यालो अभियानले विद्युत् क्षेत्रमा ल्याएको परिवर्तन उदाहरणीय भएको उल्लेख गर्दै उनले राजनीतिक सुशासनमा पनि त्यही स्तरको परिणाम दिने अठोट दोहोर्याए।
देशभरबाट उज्यालो अभियानमा समर्थन बढ्दै गएको बताउँदै उनले निर्वाचनपछि मुलुक परिवर्तनमुखी मार्गमा अघि बढ्ने विश्वास व्यक्त गरे।
मन्त्री घिसिङले देशव्यापी रुपमा नागरिकको आवाज सुनेर राजनीतिक र सरकारी दुवै भूमिकामा आफू उत्तरदायी रहने प्रतिबद्धता व्यक्त गरे। “राजनीतिका मूल उद्देश्य जनताको जीवन सुधार हो। उज्यालो राजनीति नयाँ देश निर्माणको बाटो हो,” उनले भने।



