रामेछाप अस्पतालमा भाँचिएको हड्डीको सफल शल्यक्रिया

रामेछाप । रामेछाप अस्पतालले जिल्लाको स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धि हात पारेको छ। अस्पतालमा पहिलोपटक हड्डी भाँचिएको बिरामीको शल्यक्रिया सफल भएपछि अब जिल्लावासीलाई हड्डीसम्बन्धी उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता अन्त्यतिर उन्मुख भएको छ। सोमबार अस्पतालमा दुई बिरामीको शल्यक्रिया सफलता पूर्वक सम्पन्न गरिएको छ।
मन्थली नगरपालिका–६ की ६३ वर्षीया बिमला कामीको खुट्टा भाँच्चिएको अवस्थालाई शल्यक्रिया गरी स्टिल प्लेट जडान गरिएको छ। त्यस्तै, रामेछाप नगरपालिका–७ की ३५ वर्षीया सावित्रा खड्का कार्कीको शरीरमा पहिले जडान गरिएको रड निकाल्ने शल्यक्रिया गरिएको अस्पताल प्रशासनले जनाएको छ। दुवै शल्यक्रिया सफल भएपछि बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।
शल्यक्रिया अर्थोपेडिक सर्जन (मे.सु.) डा. सागर जर्घामगर र अर्थोपेडिक सर्जन डा. नवीन कुमार यादवको नेतृत्वमा सम्पन्न भएको हो। एनेस्थेसिया राजेश यादव, नर्स समीक्षा थापा लगायतको टोली शल्यक्रिया प्रक्रियामा संलग्न थियो।
यसअघि जिल्लामै विशेषज्ञ डाक्टरको अभाव तथा आवश्यक उपकरण नहुँदा भाँचिएका हड्डी, हड्डीको चोट, नसासम्बन्धी समस्या र जटिल शल्यक्रिया सेवाका लागि बिरामीहरूलाई काठमाडौं, भरतपुर, पोखरा वा सिन्धुलीतर्फ धाउनुपर्ने बाध्यता थियो। आर्थिक बोझ, समय खर्च र जोखिमका कारण धेरै बिरामी उपचारमै बञ्चित हुँदै आएका थिए।
रामेछाप अस्पतालले अबदेखि नियमित रूपमा विशेषज्ञको उपस्थितिमा हड्डीसम्बन्धी बाहिरङ्ग सेवा र शल्यक्रिया सञ्चालन गरिने जनाएको छ। अस्पतालका अनुसार आवश्यक उपकरण, औषधि, जनशक्ति र सेवा क्षमताको विस्तारसँगै जिल्लामा स्वास्थ्य सेवा गुणस्तरले अग्रसर हुनेछ।
हालसालै अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र पूर्वाधार विस्तारसँगै सेवा गुणवत्तामा उल्लेखनीय सुधार आएको छ। आर्थिक रूपमा कमजोर, अपाङ्ग, वृद्ध र शारीरिक चोट चोटापटकका बिरामीको उपचार सहज बनाएपछि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीचको समन्वयले स्वास्थ्य क्षेत्रमा थप उन्नति ल्याउने अपेक्षा छ।
सफल शल्यक्रियासँगै अस्पतालमा उपचार गराएकी बिमला कामीकी परिवारले भने, “अब काठमाडौं धाउनुपर्ने झन्झट हट्यो। गाउँमै सुविधा मिल्यो भने हामीलाई कति राहत हुन्छ भन्ने यो घटनाले प्रस्ट देखायो।”
यस्तै, सावित्रा खड्का कार्कीको परिवारले अस्पतालको सेवा र चिकित्सकको भूमिकालाई धन्यवाद दिएका छन्।



