रामेछाप बचत संघको साधारण सभा सम्पन्न

रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको १८औँ वार्षिक साधारण सभा मंगलबार मन्थलीमा सम्पन्न भएको छ। सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती र भावी दिशाबारे छलफल गर्दै सभा सम्पन्न भएको हो।
सभाको उद्घाटन समारोहमा बोल्दै बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाले सहकारी संस्थाहरूले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे। उनले सहकारी अभियानप्रति जनविश्वास अझ मजबुत बनाउन नीति, विधि र सुशासनको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिए। “सहकारी आर्थिक विकासको मेरुदण्ड बन्दै गएको छ, तर विश्वास टिकाइराख्न अनुशासन र पारदर्शिता अनिवार्य छ,” उनले भने।
कार्यक्रममा जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलले सहकारीलाई तीनखम्बे अर्थनीतिका प्रमुख आधारमध्ये एक मानिए पनि यसको विकासमा राज्यको अपेक्षित ध्यान पुग्न नसकेको गुनासो गरे। उनले सहकारीलाई सबल बनाउन नीति–निर्माण तहबाटै सहयोग र संरक्षण आवश्यक रहेको धारणा राखे।
सभामा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष गोविन्द प्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी क्षेत्रको दीर्घकालीन स्थायित्वका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।
संघका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा सम्पन्न साधारण सभामा महासचिव शिवराज श्रेष्ठले प्रस्तुत गरेको वार्षिक कार्यक्रम प्रतिवेदन, उपाध्यक्ष नविन के.सी.ले कोषाध्यक्षको तर्फबाट प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक प्रज्ञान खड्काले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ।
साधारण सभाको अवसरमा सहकारी क्षेत्रमा फरक–फरक विधामा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मानसमेत गरिएको छ। भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारी संस्थाका रूपमा सम्मान गरिएको छ भने यस वर्षको उत्कृष्ट अभियन्ताका रूपमा मुकुन्द प्रसाद कडेरिया चयन भए। त्यसैगरी उत्कृष्ट व्यवस्थापकको सम्मान समृद्धि साकोसका दीपक कार्कीलाई प्रदान गरिएको छ। संघका निवर्तमान व्यवस्थापक रमा श्रेष्ठलाई पनि विशेष सम्मान गरिएको छ।
सभाले सहकारी अभियानलाई अझ सुदृढ, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्यदिशाका लागि सुझावसमेत प्रस्तुत गरेको छ।



