Trending

सुनापति अध्यक्ष तामाङको स्पष्ट सन्देश– ‘वाचा होइन, परिणाम देखिन्छ’

रामेछाप । सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले जनप्रतिनिधिहरूले चुनावी प्रतिबद्धतालाई भाषणमा सीमित नराखी व्यवहारमा उतारिरहेको दाबी गरेका छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले ‘गफ कम, काम धेरै’ नै सुनापति गाउँपालिकाको कार्यशैली भएको बताए ।

बिहीबार वडा नं. ५ खनियापानीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष तामाङले विकासका काम परिणाममुखी ढंगले अघि बढिरहेको बताए । कार्यक्रममा नागरिकहरूको मुख्य चासो सडक पूर्वाधारमा केन्द्रित थियो । बाँकी रहेको कालोपत्रे काममा भइरहेको ढिलाइबारे प्रश्न उठेपछि अध्यक्ष तामाङले सो सडकखण्डको करिब ९ करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी दिए । प्रदेश पूर्वाधार विकास कार्यालयसँगको समन्वयमा बहुवर्षीय ठेक्कामा लैजाने प्रक्रिया सुनिश्चित भइसकेकाले चाँडै टेन्डर आह्वान भएर काम सुरु हुने उनले बताए ।

वर्षायामले क्षति पुर्‍याएका सहायक सडकहरूको मर्मत तथा सरसफाइमा समेत पालिका निरन्तर सक्रिय रहेको अध्यक्ष तामाङको भनाइ थियो । “एम्बुलेन्स सेवा प्रभावित नहोस् भन्नेमा हामी विशेष सजग छौँ,” उनले भने, “सडक मर्मत र सरसफाइलाई उच्च प्राथमिकतामा राखिएको छ ।”

स्वास्थ्य सेवातर्फ पनि सुनापति गाउँपालिकाले महत्वपूर्ण फड्को मारेको अध्यक्ष तामाङले बताए । पालिकाकै अस्पतालबाट आधारभूत उपचार सेवा सहज रूपमा उपलब्ध हुन थालेको उल्लेख गर्दै उनले अब सामान्य उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य हुँदै गएको बताए । एक्स–रे सेवाका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको र अनुगमनपछि प्राप्त हुने करिब १ करोड बजेटबाट अत्याधुनिक उपकरण थपिने जानकारी उनले दिए । “छिट्टै एक्स–रे सेवा पनि यहीँबाट सुरु हुन्छ,” उनले विश्वास दिलाए ।

सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै आएको दाबी गर्दै अध्यक्ष तामाङले विकास बजेटको कार्यान्वयन पारदर्शी ढंगले भइरहेको बताए । “नागरिकका गुनासा कम हुनुको कारण हामीले काम गरेर देखाउनु हो,” उनले भने, “हाम्रो कार्यकाल अझै डेढ वर्ष बाँकी छ, घोषणापत्रभन्दा पनि बढी काम गरेर देखाउनेछौँ ।”

कार्यक्रमको अन्त्यतिर अध्यक्ष तामाङले ‘साझा प्रयासबाट समृद्ध सुनापति’ निर्माण गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए । विकास निर्माणमा अवरोध होइन, सुझाव र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

यसैबीच, सार्वजनिक सुनुवाइ कार्यक्रममा पहिलो चौमासिकको आर्थिक अवस्था पनि सार्वजनिक गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा गाउँपालिकाले कुल बजेटको १५.२९ प्रतिशत खर्च गरेको छ । यसमध्ये चालु खर्च २१.९४ प्रतिशत र पुँजीगत खर्च ३.९४ प्रतिशत रहेको उनले जानकारी दिए । खर्चको अनुपात अपेक्षाकृत कम देखिए पनि राजस्व संकलनतर्फ भने सन्तोषजनक प्रगति भएको उनको भनाइ थियो । वार्षिक लक्ष्यको ३८.३९ प्रतिशत अर्थात् १९ लाख १९ हजार ३२ रुपैयाँ राजस्व पहिलो चौमासिकमै संकलन भइसकेको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गीता विष्ट, विभिन्न वडाध्यक्ष, विषयगत शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा सेवा प्रदायक निकायका प्रतिनिधिहरू सहभागी थिए । नेपाल पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष हिमाल ढुंगेलले नियमित सार्वजनिक सुनुवाइले सुशासन र जवाफदेहिता मजबुत बनाउने बताए ।

स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र सर्वसाधारणको उल्लेख्य सहभागितामा सम्पन्न उक्त कार्यक्रम सुनापति गाउँपालिकाको आयोजना र प्रहार मिडिया प्रालिको सहजीकरणमा भएको हो । कार्यक्रममा करिब दुई सय जनाको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button