Trending

बेथानको स्मृतिले फेरि जगायो जनयुद्धकालीन इतिहास

रामेछाप । जनयुद्धकालीन एक महत्वपूर्ण घटनास्थलका रूपमा चिनिने सुनापती गाउँपालिका–४ बेथानमा ३० औँ वीरता दिवस भव्य रूपमा मनाइँदा सहिदप्रति सम्मान र राजनीतिक परिवर्तनको स्मृति पुनः उजागर भएको छ । पानीघाट क्षेत्रमा आयोजित कार्यक्रममा जनयुद्धका प्रारम्भिक दिनको इतिहास, बलिदान र त्यसले ल्याएको परिवर्तनको स्मरण गरिएको छ ।

चण्डेश्वर चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवशंकर पौडेलले बेथानलाई नेपालको जनयुद्धको प्रारम्भिक फौजी कारबाही भएको ऐतिहासिक स्थलका रूपमा व्याख्या गर्दै यहाँ बगेको रगतले मुलुकको राजनीतिक मार्ग परिवर्तन गरेको धारणा राखे । उनका अनुसार यस भूमिमा वीरता दिवस मनाउनु स्वयं इतिहाससँग संवाद गर्नुजस्तै हो । साथै उनले सहिदहरूको योगदानलाई राज्यले वैज्ञानिक ढंगले वर्गीकरण गरी सम्मान गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रमका विशेष अतिथि बागमती प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठले तीन दशकअघि बेथानमा भएको फौजी कारबाहीका क्रममा दुवै पक्षका गरी पाँच जनाले ज्यान गुमाएको तथ्य स्मरण गरे । उहाँले जनयुद्धको बलिदानकै कारण मुलुकमा राजनीतिक रूपान्तरण सम्भव भएको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई कमजोर पार्ने प्रयास असफल हुने दाबी गरे ।

प्रदेशसभा सदस्य युवराज चौलागाईंले सहिद तिर्थबहादुर गौतम, फत्तबहादुर स्यालामी मगर र दिलमाया बम्जनको बलिदानकै कारण जनयुद्ध निर्णायक मोडमा पुगेको धारणा व्यक्त गरे । उनका अनुसार ३० वर्षअघि बेथान प्रहरी चौकी कब्जाका क्रममा देखिएको साहस र वीरताले आजको परिवर्तनको जग तयार गरेको हो ।

संविधानसभा सदस्य डिल्लिमान तामाङले सहिदहरूको बलिदानकै कारण नेपाल निरङ्कुश व्यवस्थाबाट गणतन्त्रसम्म आइपुगेको स्पष्ट पार्दै सहिद स्मृतिको संरक्षण र सम्मान राजनीतिक दलहरूको साझा दायित्व भएको बताए ।

कार्यक्रममा सुनापती गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान (मदन), नेकपा नेता धावा लामा, अनुप गजुरेललगायतको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागी वक्ताहरूले बेथानजस्ता ऐतिहासिक स्थलको संरक्षण र भावी पुस्तामा इतिहास हस्तान्तरण गर्नुपर्नेमा समेत जोड दिएका थिए ।

२०५३ साल पुस १९ गते तत्कालीन नेकपा माओवादीले बेथानस्थित प्रहरी चौकी कब्जा गरेको दिनको सम्झनामा माओवादी केन्द्रले प्रत्येक वर्ष वीरता दिवस मनाउँदै आएको छ । सो घटनामा शाहदत प्राप्त तीन सहिदको सम्झनामा पानीघाट क्षेत्रमा अर्धकदको शालिक र स्मृति पार्क निर्माण गरिएको छ, जसले बेथानलाई जनयुद्ध इतिहासको एक जीवित स्मारकका रूपमा चिनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button