कोशी प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठन, १० मन्त्रीले गरे शपथग्रहण

विराटनगर — कोशी प्रदेश सरकारमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ। मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै १० जना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा मन्त्रीहरूले शपथ लिएका हुन्। पुनर्गठित सरकारमा सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहमति अनुसार मन्त्रालयको बाँडफाँट गरिएको छ। मन्त्रिपरिषद्मा दुवै दलबाट चार–चार जना मन्त्री र एक–एक जना राज्यमन्त्री समेटिएका छन्।
नवनियुक्त मन्त्रीहरूमा प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री, तिलचन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तथा इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन्।
त्यसैगरी विदुरकुमार लिङ्थेप आर्थिक मामिला तथा योजना, रामप्रसाद महतो सामाजिक विकास, मानबहादुर लिम्बू स्वास्थ्य तथा इसाइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन्।
यसैबीच शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम विना विभागीय राज्यमन्त्रीको जिम्मेवारीमा छन्।



