उत्कृष्ट १० जना कृषक तथा उद्यमी सम्मानित

रामेछाप ।स्थानीय उत्पादनको प्रवद्र्धन, किसान र उद्यमीको मनोबल अभिवृद्धि तथा आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण गर्ने उद्देश्यसहित मन्थली नगरपालिकाले आयोजना गरेको दुईदिने नगरस्तरीय कृषि तथा लघु उद्यम विकास प्रदर्शनी मेला २०८२ आइतबार भव्य रूपमा सम्पन्न भएको छ । मेलाको समापनसँगै कृषि, पशुपन्छी तथा लघु उद्यमका विभिन्न विधामा उल्लेखनीय योगदान दिएका १० जना कृषक तथा उद्यमीलाई सम्मान गरिनु यस कार्यक्रमको मुख्य आकर्षण बन्यो ।
समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने १० जना कृषक तथा उद्यमीलाई सम्मान गरिनु केवल पुरस्कार वितरण मात्र थिएन, यो उनीहरूको मेहनत र संघर्षको सार्वजनिक स्वीकारोक्ति पनि थियो । सम्मानित कृषक तथा उद्यमीहरूले यस्तो कदरले आफूहरूलाई थप जिम्मेवार र उत्साहित बनाएको प्रतिक्रिया दिए ।
नगरभित्र क्रियाशील किसान, पशुपालन व्यवसायी र लघु उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूलाई एउटै छानामुनि ल्याएर गरिएको यस मेलाले मन्थलीको स्थानीय उत्पादन क्षमतालाई बजार र उपभोक्तासँग प्रत्यक्ष जोड्ने महत्वपूर्ण सेतुको काम ग¥यो । खेतबारीमा उब्जिएका ताजा तरकारीदेखि बगैंचामा फलेका फलफूल, पशुजन्य उत्पादनदेखि घरेलु लघु उद्योगका खाद्य परिकार, घरायसी सजावटका सामग्रीदेखि हाते तानबाट उत्पादित कपडासम्मसबै वस्तुले मेलामा छुट्टै पहिचान पाएको थियो ।
समापन समारोहमा मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले कृषि तथा लघु उद्यम क्षेत्रलाई नगरपालिकाको प्राथमिकतामा राखिएको स्पष्ट पारे । उनले बीउ–बिजन, कृषि उपज, कीटनाशक विषादी, रासायनिक मल तथा कृषि यान्त्रिकरणका क्षेत्रमा नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको जानकारी गराए ।
“अहिलेसम्मको सहयोग पर्याप्त नहुन सक्छ,” नगर प्रमुख श्रेष्ठले भने, “तर आगामी दिनमा व्यावसायिक कृषि र लघु उद्यम गर्ने कसैलाई पनि सहयोग नपाइने अवस्था नआउने गरी नगरपालिका अघि बढ्छ ।” उनका अनुसार नीति, कार्यक्रम र बजेटमार्फत किसान तथा उद्यमीलाई दीर्घकालीन रूपमा साथ दिने प्रतिबद्धता नगरपालिकाको छ ।
कार्यक्रममा बागमती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले युवाशक्ति विदेश पलायन भइरहेको वर्तमान अवस्थालाई स्मरण गर्दै कृषि र लघु उद्यम विकास नै देशभित्र रोजगारी सिर्जनाको भरपर्दो आधार भएको बताए । “यदि कृषि र उद्यमलाई सही ढङ्गले प्रोत्साहन गर्न सकियो भने देशमै रोजगारी सिर्जना हुन्छ र आर्थिक समृद्धि सम्भव हुन्छ,” उनले भने ।उनका अनुसार स्थानीय तह र प्रदेश सरकारबीच समन्वय गरेर कृषि र उद्यमलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउने हो भने ग्रामीण अर्थतन्त्र सबल बन्न सक्छ ।
नगरस्तरीय कृषि तथा लघु उद्यम विकास प्रदर्शनी मेला केवल प्रदर्शनी र बिक्रीमा सीमित रहेन । यसले स्थानीय उत्पादनप्रति गर्व गर्ने संस्कार विकास गर्ने आधार तयार गरेको देखिन्छ । किसान र उद्यमीका उत्पादनलाई सम्मान र पहिचान दिलाउने यस्ता कार्यक्रमले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।
मन्थली नगरपालिकाले आगामी दिनमा पनि कृषि, पशुपन्छी तथा लघु उद्यम प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिने संकेत दिएको छ । स्थानीय उत्पादन, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ यो मेला मन्थलीका लागि एक सकारात्मक सन्देश बनेर सम्पन्न भएको छ ।



