च्यास्कुमा बोलेरो सटरभित्र पस्दा चार वर्षीया बालिकाको मृत्यु

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका–६ च्यास्कु बजारमा बोलेरो गाडी सटरभित्रै छिर्दा चार वर्षीया बालिकाको ज्यान गएको छ।
शनिवार दिउँसो करिब २ बजे बाग्मती प्रदेश ०३१ च ५०७५ नम्बरको बोलेरोले ठक्कर दिँदा पसलमा बसिरहेकी सोही वडाकी कोपिला तामाङ श्रेष्ठकी चार वर्षीया छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजन तिमल्सिनाले जानकारी दिए। उनका अनुसार बालिका पसलमा सामान किनिरहेका बेला बोलेरो सटरभित्र पसेको थियो।
सूचना अधिकारी तिमल्सिनाका अनुसार गाडी चालक नभएको अवस्थामा अटो चालक तिर्थबहादुर तामाङले सवारी चलाउँदा घटना भएको हो। नियन्त्रण गुमाएर सटरभित्र छिरेको गाडीले बालिकासहित केही स्थानीयलाई समेत ठक्कर दिएको बताइएको छ।
घटनापछि स्थानीय आक्रोशित बनेका छन्। प्रहरीले बालिकाको शव आफन्तको अनुमति बिना उठाएर एम्बुलेन्समा राखेको भन्दै स्थानीयले प्रहरीमाथि हातपात गर्ने प्रयास गरेका थिए। घटनास्थल केहीबेर तनावग्रस्त बनेको थियो।
ठक्करबाट घाइते भएका अन्य स्थानीयलाई उपचारका पछि घर फर्केका छन् । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



