तामाकोशीको तीरमा उद्यमशीलताको सुगन्ध

मन्थलीको रापिलो घाम जब दिउँसो तिर धुलाम्मे सडकमा टाँसिन्छ, त्यतिबेला सहरको भीडभाडबाट केही पर सोतीतिर झरेपछि तामाकोशीको किनारमा पुग्दा वातावरण नै फेरिन्छ। नदीको सुसेली, बगरको शान्ति र पुरानो ‘एक्ले बरको बोट’को छहारीले थकित यात्रुलाई रोक्न बाध्य बनाउँछ। त्यही छहारीको छेउमा उभिएको छ–‘होटल ब्लु स्काई’। नाममा जस्तै खुला आकाशको अनुभूति दिने यो होटल केवल व्यवसाय होइन, एक जना युवाको आत्मनिर्णय र स्वदेशप्रतिको अडानको कथा हो। यसका सारथि हुन्–कुमार बस्नेत।
उनको जीवनयात्रामा खाडीको तातो बालुवाको स्पर्श पनि छ र तामाकोशीको चिसो पानीको शीतलता पनि। चार महिना उन्नाइस दिन दुबईमा बिताएको अनुभव, विदेश बस्न मन नलागेपछि स्वदेश फर्किएको निर्णय, र पछिल्लो नौ वर्षदेखि निरन्तर होटल व्यवसायमा खटिएको कर्मशीलता, यी सबैले मिलेर उनको व्यक्तित्व निर्माण गरेका छन्।
कुमार पनि अरू धेरै युवाझैँ वैदेशिक रोजगारीको सपना बोकेर दुबई पुगेका थिए। साथमा थियो परिवारको अपेक्षा, गाउँलेहरूको शुभकामना र ‘केही गरेर फर्किन्छु’ भन्ने दृढता । सुरुका दिनमा चम्किला सडक, अग्ला भवन र व्यवस्थित सहरले उनलाई चकित बनायो । तर समय बित्दै जाँदा उनलाई महसुस भयो–सहर जति उज्यालो देखिए पनि मनको कुनामा अँध्यारो बढ्दैछ।
चार महिना उन्नाइस दिन ! उनका लागि यो समय केवल दिनगन्ती मात्र थिएन । यो आत्मसंघर्षको अवधि थियो। होटल क्षेत्रमा काम गर्दा उनले व्यवस्थापन, अनुशासन र ग्राहक सेवाको अन्तर्राष्ट्रिय मापदण्ड नजिकबाट देखे । तर त्यही बीचमा उनले एउटा प्रश्न बारम्बार आफूलाई सोधे,“के म यहीँका लागि बनेको हुँ?”
दुबईको सुविधा थियो, तर आफ्नोपन थिएन । तामाकोशीको किनारमा हुर्किएको युवकलाई मरुभूमिको तातो हावाले बाँधेर राख्न सकेन । अन्ततः उनले निर्णय लिए, विदेशको बसाइ लम्ब्याउने होइन, अनुभव बटुलेर स्वदेश फर्किने।
नेपाल फर्किँदा धेरैले उनलाई सोधे—“यत्रो दुःख गरेर गएको, किन फर्कियौ?” उनी मुस्कुराउँथे । उनको जवाफ सरल थिया–“मन नलागेको ठाउँमा बस्नु भन्दा आफ्नो माटोमा संघर्ष गर्नु राम्रो।”
स्वदेश फर्किनु उनका लागि केवल भावनात्मक निर्णय थिएन । उनले दुबईमा सिकेका सीप, व्यवस्थापन शैली र सेवा संस्कृतिलाई आफ्नै ठाउँमा प्रयोग गर्ने योजना बनाइसकेका थिए। उनले देखेका थिए, मन्थली बढ्दो शहरीकरणको बाटोमा छ । तामाकोशी किनारमा आन्तरिक पर्यटनको सम्भावना छ। तर व्यवस्थित, पारिवारिक र गुणस्तरीय होटलको अभाव छ। यही ‘ग्याप’ उनले अवसरका रूपमा देखे।
कुमार बस्नेत विगत नौ वर्षदेखि होटल व्यवसायमा सक्रिय छन् । सुरुका दिन सहज थिएनन्। लगानी सानो, जोखिम ठूलो। तर उनीसँग थियो धैर्यता र अनुभव। उनले व्यवसायलाई केवल नाफाको साधन मानेनन्, यसलाई दीर्घकालीन यात्राको रूपमा लिए।
‘होटल ब्लु स्काई’ स्थापना गर्दा उनले तीनवटा आधार तय गरे । गुणस्तरीय सेवा,स्थानीय उत्पादनको प्राथमिकता र आत्मीय वातावरण । उनले मेनु बनाउँदा विदेशी परिकारभन्दा बढी तामाकोशीको ताजा माछा, गाउँकै कुखुरा र खसीलाई प्राथमिकता दिए । यसले दुई तहमा असर ग¥यो, ग्राहकले अर्गानिक स्वाद पाए, किसानले बजार पाए। स्थानीय अर्थतन्त्र चलायमान भयो।
उनकोे सोच स्पष्ट छ, यदि व्यवसायले वरपरको समुदायलाई फाइदा दिँदैन भने त्यो दिगो हुन सक्दैन। त्यसैले होटलमा प्रयोग हुने अधिकांश सामग्री स्थानीय स्रोतबाट ल्याइन्छ। सब्जी, मासु, अन्न, सम्भव भएसम्म गाउँकै। यसले होटललाई केवल व्यापारिक केन्द्र नभई सामुदायिक सहकार्यको थलो बनाएको छ। उनि भन्छन्, “हामीले गाउँको उत्पादन बेच्न सक्यौं भने विदेशबाट आयात किन?”
होटल व्यवसायमा भवनभन्दा ठूलो कुरा व्यवहार हो भन्ने उनी मान्छन्। दुबई बसाइका क्रममा उनले सिकेका थिए, ग्राहक सन्तुष्टि नै ब्रान्ड हो । नेपाल फर्किएपछि उनले त्यही सूत्र अपनाए। होटलमा प्रवेश गर्ने जो–कोहीलाई उनी स्वयं स्वागत गर्छन्। मुस्कान, संवाद र आत्मीयता–यी उनका स्थायी शैली हुन्। यही कारण ‘ब्लु स्काई’ आज मन्थलीबासीको मात्र नभई बाटो हिँड्ने यात्रुहरूको पनि रोजाइ बन्न पुगेको छ।
स्वदेशमा व्यवसाय गर्नु सजिलो छैन। कर प्रणालीको जटिलता, बजारको अस्थिरता, दक्ष जनशक्तिको अभाव, यी सबै चुनौती उनले भोगेका छन्। कहिले पर्यटक घटे, कहिले लागत बढ्यो। तर उनले कहिल्यै व्यवसाय बन्द गर्ने सोच बनाएनन्। बरु, चुनौतीलाई सुधारको अवसर माने। कर्मचारीलाई तालिम दिए, सेवा स्तर उकासे, ग्राहकको प्रतिक्रिया सुने।
कुमार बस्नेतको कथा आजका युवाका लागि उदाहरण हो। विदेश जानु गलत होइन, तर विदेश नै अन्तिम विकल्प हो भन्ने सोच गलत हुन सक्छ, उनको अनुभवले यही भन्छ। चार महिना उन्नाइस दिनको खाडी बसाइले उनलाई सिकायो, सीप जहाँ सिके पनि प्रयोग आफ्नै माटोमा गर्न सकिन्छ। उनी भन्छन्, “पासपोर्ट बोकेर लाइन बस्नुभन्दा आफ्नै ठाउँको सम्भावना पहिचान गरौँ।”
तामाकोशी नदी केवल जलस्रोत होइन, पर्यटनको सम्भावना पनि हो। नदी किनारमा रिभरसाइड डाइनिङ, पारिवारिक जमघट, साना कार्यक्रम, यी सबैको केन्द्र बन्ने लक्ष्य उनले राखेका छन् । उनको दीर्घकालीन योजना छ । स्थानीय युवालाई तालिम दिएर सेवा क्षेत्रमा दक्ष बनाउने । यसरी होटल केवल कमाउने माध्यम नभई रोजगारी सिर्जना गर्ने प्लेटफर्म बन्नेछ।
निर्णय सानो होस् वा ठूलो, त्यसले भविष्य बदल्न सक्छ भन्ने कुमारको जीवनले देखाउँछ । यदि उनले दुबईमै बसाइ लम्ब्याउने निर्णय लिएका भए, सायद आर्थिक रूपमा स्थिर हुन्थे। तर स्वदेश फर्किने निर्णयले उनलाई आत्मसन्तुष्टि र सामाजिक सम्मान दुवै दिएको छ।
तामाकोशी किनारको पुरानो ‘एक्ले बरको बोट’ एक्लै उभिए पनि दह्रो छ। कुमार बस्नेतको यात्रा पनि त्यस्तै छ । एक्लै सुरु भएको, तर आज धेरैको सहारा बनेको। चार महिना उन्नाइस दिनको विदेश बसाइ, नौ वर्षको होटल अनुभव र स्वदेश फर्किएको अडान, यी सबैले उनलाई फरक बनाएको छ।
समृद्धि टाढा खोज्नुपर्दैन, सम्भावना आफ्नै माटोमा लुकेको हुन्छ भन्ने उनको कथाले बताउँछ । जब युवाले आफ्नै गाउँमा पसिना बगाउन थाल्छ, त्यहीँबाट देशको अर्थतन्त्र सुदृढ हुन्छ। तामाकोशीको सुसेलीसँगै बगिरहेको छ–एक जना युवाको विश्वास, “माटो चिन्न सके ढुङ्गामा पनि फूल फुलाउन सकिन्छ ।”



