Trending

बदर मत न्यूनीकरणमा मतदाता शिक्षाको प्रभावकारिता

निर्वाचन विशेष लेख । लोकतान्त्रिक प्रणालीमा निर्वाचन केवल प्रतिनिधि छनोट गर्ने प्रक्रिया मात्र होइन, यो नागरिकको सार्वभौमसत्ता प्रयोग गर्ने उच्चतम अवसर पनि हो। नागरिकले आफ्नो मतमार्फत राज्यसत्ताको संरचना निर्माणमा प्रत्यक्ष भूमिका खेल्छ। त्यसैले मतदान केवल कर्तव्य होइन, अधिकार र जिम्मेवारीको संयोजन हो। तर जब त्यही मत प्राविधिक त्रुटिका कारण बदर हुन्छ, तब त्यो नागरिकको आवाज हराउनुका साथै लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठ्नु हो। यस अर्थमा बदर मत न्यूनीकरण लोकतन्त्रको गुणस्तर सुधारसँग प्रत्यक्ष सम्बन्धित विषय हो।
नेपाल जस्तो भौगोलिक, भाषिक र शैक्षिक विविधता भएको मुलुकमा निर्वाचन व्यवस्थापन आफैंमा चुनौतीपूर्ण छ। हिमाली दुर्गम बस्ती, पहाडी गाउँ, तराईका फाँट र सहरी केन्द्र—सबै ठाउँमा एउटै निर्वाचन प्रक्रिया समान रूपमा बुझाइनु आवश्यक हुन्छ। मतदान प्रतिशत उच्च हुनु सकारात्मक सूचक हो, तर सदर मतको अनुपात कम भएमा त्यो सहभागिताको गुणस्तर कमजोर भएको संकेत हो। त्यसैले लोकतन्त्रको वास्तविक सुदृढीकरणका लागि बदर मत घटाउनु अपरिहार्य छ।
विगतका निर्वाचनहरूमा बदर मतको उल्लेखनीय सङ्ख्याले जनमतको अपमान र राज्यको लगानी खेर गइरहेको यथार्थ उजागर गरेको थियो। मतपत्र छपाइ, ढुवानी, जनशक्ति परिचालन र व्यवस्थापनमा राज्यले ठूलो स्रोत खर्च गर्छ। तर तीमध्ये केही मत प्राविधिक त्रुटिका कारण अमान्य हुँदा त्यो केवल कागजको क्षति होइन, लोकतान्त्रिक विश्वासको ह्रास पनि हो। यस सन्दर्भमा स्थानीय तहमा सञ्चालन गरिएका मतदाता शिक्षा कार्यक्रमहरूले नयाँ आशा जगाएका छन्।
मन्थली नगरपालिका वडा नं. ११ को नाटिला गाउँमा सञ्चालन गरिएको मतदाता शिक्षा अभियान यसको उदाहरण हो। यहाँ मतदाता शिक्षा औपचारिक कार्यक्रमको सीमाभन्दा बाहिर गएर व्यवहारिक अभ्यासमा केन्द्रित गरिएको छ। यस अभियानले बदर मत घटाउने स्पष्ट लक्ष्य लिएको छ। विशेषगरी ग्रामीण भेगका मतदातामा देखिएको प्राविधिक अन्योल हटाउने प्रयास गरिएको छ।
निर्वाचन आयोगले रेडियो, टेलिभिजन र पत्रपत्रिकाबाट सूचना सम्प्रेषण गरे तापनि ग्रामीण क्षेत्रमा सन्देशको प्रभाव सीमित देखिएको थियो। “छाप दुई कोठाको घेरा नछुनुहोस्” भन्ने सन्देश सुन्न सजिलो भए पनि व्यवहारमा त्यसलाई कसरी लागू गर्ने भन्ने स्पष्टता धेरै मतदातामा थिएन। मतपत्रको आकार, चिन्हहरूको घनत्व, छापको मसी र पट्याउने तरिकाबारे प्रत्यक्ष अभ्यास नहुँदा त्रुटि दोहोरिन्थ्यो।
तर अहिले मन्थली–११ की मतदाता शान्तमाया बुढाथोकी र सुन्तली मगरको अनुभवले सकारात्मक परिवर्तनको संकेत दिएको छ। उहाँहरूका अनुसार, “पहिले मतदाता शिक्षा गाउँमा नपाउँदा अन्योल थियो, अहिले घरमै सिक्न पाउँदा ढुक्क भएर मतदान गर्न सक्षम भएका छौँ।” यो कथनले सूचना र अभ्यासबीचको फरक स्पष्ट पार्छ। टाढाबाट सुनेको जानकारीभन्दा प्रत्यक्ष सिकाइ प्रभावकारी हुने प्रमाण यसले दिन्छ।
यस परिवर्तनको मुख्य कारण ‘व्यावहारिक अभ्यास’ हो। जब मतदाता शिक्षाका स्वयम्सेवकहरू घरमै पुगेर नमूना मतपत्रमा छाप लगाउन सिकाउँछन्, मतपत्र कसरी पट्याउने देखाउँछन्, मसी सुक्न कति समय कुर्नुपर्छ भन्ने सम्झाउँछन्, तब मतदातामा रहेको “मेरो मत बदर होला कि?” भन्ने मनोवैज्ञानिक त्रास कम हुन्छ। लोकतन्त्रप्रतिको आत्मविश्वास अभ्यासबाटै निर्माण हुन्छ।
निर्वाचन आयोगले बदर मत घटाउनका लागि जारी गरेको पछिल्लो निर्देशिकामा स्पष्ट प्रावधानहरू राखिएका छन्। छाप लगाउँदा दुईवटा कोठाको घेरा छुनु हुँदैन। यदि छापको आधा भाग एउटा चिन्हमा र आधा अर्कोमा परेमा मत स्वतः बदर हुन्छ। मतपत्रमा हस्ताक्षर, औँठाछाप वा अन्य कुनै चिन्ह राखेमा त्यो अमान्य ठहरिन्छ। फरक पदका लागि छुट्टाछुट्टै मतपेटिका हुन सक्ने भएकाले सही मतपत्र सही पेटिकामा खसाल्नु अनिवार्य हुन्छ। यी प्रावधानहरू कागजमा स्पष्ट भए पनि व्यवहारमा बुझ्न अभ्यास आवश्यक पर्छ।
रामेछाप जिल्लाको २०७९ सालको निर्वाचन तथ्याङ्कले बदर मतको चुनौतीलाई स्पष्ट देखाएको छ। रामेछाप जिल्ला मा उक्त निर्वाचनमा औसत ५.३८ प्रतिशत मत बदर भएको थियो। यदि कुल खसेको मत एक लाख मान्ने हो भने पाँच हजारभन्दा बढी मत अमान्य भएको अर्थ लाग्छ। यो केवल प्रतिशत होइन, हजारौँ नागरिकको प्रतिनिधित्व गुम्नु हो।
स्थानीय तहगत विवरण झनै रोचक छ। लिखु तामाकोशी गाउँपालिका मा ७.१८% (उच्चतम), उमाकुण्ड गाउँपालिका मा ६.९५%, गोकुलगंगा गाउँपालिका मा ६.५२%, मन्थली नगरपालिका मा ५.६४%, रामेछाप नगरपालिका मा ५.१८%, खाँडादेवी गाउँपालिका मा ४.११%, सुनापति गाउँपालिका मा ३.९४% र दोरम्बा शैलुङ गाउँपालिका मा ३.४३% (न्यूनतम) बदर मत रहेको थियो। यी तथ्याङ्कले देखाउँछन् कि जहाँ पहुँच र शिक्षा प्रभावकारी भयो, त्यहाँ बदर मत कम भएको सम्भावना बलियो छ।
युवा वर्गमा निर्वाचनप्रति उत्साह भए पनि प्रक्रियागत ज्ञान अभाव हुन सक्छ। त्यसैले डिजिटल माध्यम, भिडियो प्रदर्शन र सामाजिक सञ्जालमार्फत प्रशिक्षण दिइएको छ। युवालाई “डिजिटल मतदाता शिक्षक” का रूपमा परिचालन गर्दा उनीहरूले परिवार र समुदायमा ज्ञान विस्तार गरेका छन्। यसले दीर्घकालीन रूपमा सचेत नागरिक निर्माणमा सहयोग पु¥याउँछ।
महिलाहरूका लागि घरदैलोमा शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। घरायसी काम र खेतीपातीमा व्यस्त रहने महिलाहरू सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्ने अवस्था हुन्छ। उनीहरूकै आँगनमा पुगेर सिकाउँदा सहभागिता बढेको छ। यसले राजनीतिक सहभागिता र चेतनास्तरमा सकारात्मक प्रभाव पारेको देखिन्छ।
वृद्धवृद्धालाई विशेष प्राथमिकता दिइएको छ। दृष्टि कमजोर हुनु, हात काँप्नु वा लामो मतपत्र देखेर अन्योल हुनु उनीहरूको सामान्य समस्या हो। धैर्यपूर्वक अभ्यास गराउँदा उनीहरूमा आत्मविश्वास वृद्धि भएको छ। लोकतन्त्र समावेशी हुनका लागि यस्ता लक्षित कार्यक्रम अपरिहार्य हुन्छन्।
समालोचनात्मक रूपमा हेर्दा अझै चुनौती बाँकी छन्। एउटै मतपत्रमा धेरै चिन्ह हुँदा मतदाता झुक्किन सक्छन्। कतिपय पदमा उम्मेदवार नहुँदा खाली स्थानले भ्रम सिर्जना गर्न सक्छ। छाप लगाएलगत्तै मतपत्र पट्याउँदा मसी सरेर मत बदर हुने समस्या ग्रामीण क्षेत्रमा अझै देखिन्छ। विकट बस्तीहरूमा मतदाता शिक्षक सबै घरधुरी पुग्न नसक्नु अर्को समस्या हो। निर्वाचनको केही दिनअघि मात्र अभियान सुरु हुँदा पर्याप्त अभ्यास समय नपुग्ने चुनौती पनि रहन्छ।
रामेछापका पालिकाहरूले मतदाता शिक्षालाई केवल आयोगको कार्यक्रम नभई स्थानीय दायित्वको रूपमा लिएको देखिन्छ। जब जनप्रतिनिधि, शिक्षक, युवा क्लब र आमा समूह सक्रिय हुन्छन्, तब अभियानको प्रभावकारिता बढ्छ। नाटिला गाउँको अनुभवले यही देखाएको छ—स्थानीय स्वामित्वले कार्यक्रमलाई जीवित र प्रभावकारी बनाउँछ।
दीर्घकालीन समाधानका लागि केही रणनीतिक कदम आवश्यक छन्। पहिलो, माध्यमिक तहदेखि नै नागरिक तथा निर्वाचन शिक्षालाई पाठ्यक्रममा समावेश गर्नुपर्छ। दोस्रो, स्थानीय भाषा र संस्कृतिअनुसार श्रव्य–दृश्य सामग्री निर्माण गर्नुपर्छ। तेस्रो, डिजिटल साक्षरता बढाउँदै युवालाई सूचना प्रवाहको माध्यम बनाउनु आवश्यक छ। चौथो, निर्वाचनअघि मात्र होइन वर्षैभरि सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ।
बदर मत घटाउनु भनेको केवल प्राविधिक सुधार होइन; यो लोकतान्त्रिक संस्कार निर्माण हो। जब मतदाता ढुक्क भएर मतदान केन्द्रमा प्रवेश गर्छ, सही चिन्हमा छाप लगाउँछ र आत्मविश्वासका साथ मतपेटिकामा मत खसाल्छ, तब लोकतन्त्र बलियो हुन्छ। प्रत्येक सदर मतले राज्यसत्ताको वैधता सुदृढ बनाउँछ।
अन्ततः, शान्तमाया बुढाथोकी र सुन्तली मगर जस्ता मतदाताहरूको आत्मविश्वास नै सफल लोकतन्त्रको जग हो। मतदाता शिक्षा केवल ‘छाप लगाउन सिकाउने’ प्रक्रिया मात्र होइन, यो नागरिकलाई आफ्नो भविष्य आफैँ तय गर्ने शक्तिबारे सचेत गराउने अभियान हो। मन्थली नगरपालिकाको प्रयासले अन्य स्थानीय तहलाई पनि प्रेरणा दिन सक्छ। बदर मत न्यूनीकरणमार्फत प्रत्येक नागरिकको आवाजलाई सम्मान गरिँदा मात्र समृद्ध, समावेशी र उत्तरदायी लोकतन्त्र निर्माण सम्भव हुन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button