Trending

इरान-इजरायल युद्धइरानको विद्यालयमा इजरायली आक्रमण : हाल सम्म २४ जना बालिकाको मृत्यु

बहराइनमा अमेरिकी सैन्य अखडामा इरानले हमला गरेपछि त्रास फैलिएको छ र नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।
रुसले अमेरिका र इजरायललाई इरानमाथिको आक्रमण रोक्न चेतावनी दिँदै कूटनीतिक समाधान खोज्न आग्रह गरेको छ।
तेहरान । इरान र इजरायलबिचको युद्धले निकै भयानक र अमानवीय मोड लिएको छ। दक्षिण इरानको होर्मोज्गान प्रान्तस्थित मिनाब सहरमा रहेको एक प्राथमिक बालिका विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा परी ज्यान गुमाउने विद्यार्थीको संख्या २४ पुगेको छ।
यसअघि पाँच जनाको मृत्यु भएको भनिए पनि भग्नावशेषबाट थप शवहरू निकालिएपछि मृतकको संख्या ह्वात्तै बढेको इरानी समाचार एजेन्सी फार्सले पुष्टि गरेको छ। युद्धको राप छिमेकी मुलुक बहराइनमा पनि सल्किएको छ। बहराइनको गृह मन्त्रालयले अमेरिकी नौसैनिक आधार शिविर रहेको जुफैर क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा सार्न सुरु गरेको छ।
उक्त सैन्य अखडामाथि इरानी हमला भएपछि आकाशमा बाक्लो धुवाँ देखिएको छ। प्रशासनले नागरिकहरूलाई सुरक्षाकर्मीसँग पूर्ण सहयोग गर्न र जोखिमपूर्ण क्षेत्र खाली गर्न निर्देशन दिएको छ। खाडी क्षेत्रका अमेरिकी सैन्य ठेगानाहरू इरानको निशानामा परेपछि बहराइनमा त्रास फैलिएको छ। यसैबिच रुसले अमेरिका र इजरायललाई इरानमाथिको आक्रमण तत्काल रोक्न चेतावनी दिएको छ।
रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्थितिलाई राजनीतिक र कूटनीतिक बाटोमा फर्काउन माग गरेको छ। रुसले अमेरिका र इजरायलको यो कदमलाई गैरजिम्मेवार भन्दै अन्तर्राष्ट्रिय समुदायलाई यसको निष्पक्ष मूल्याङ्कन गर्न आग्रह गरेको छ। रुसले अन्तर्राष्ट्रिय कानुन र आपसी सम्मानका आधारमा शान्तिपूर्ण समाधान खोज्न आफू तयार रहेको समेत स्पष्ट पारेको छ।
विश्वका अन्य मुलुकहरूले पनि यो युद्धको चर्को विरोध गरेका छन्। नर्वेका विदेशमन्त्री एस्पेन बार्थले इजरायलको ‘पूर्व-सतर्कता’ (प्रि-एम्प्टिभ) आक्रमणको दाबीलाई खारेज गर्दै यो अन्तर्राष्ट्रिय कानुन विपरित रहेको बताएका छन्।
उनले यस्तो आक्रमणका लागि तत्कालै आसन्न खतरा हुनुपर्नेमा त्यस्तो नदेखिएको तर्क गरे। बेल्जियमले इरानी सरकारको छनोटको मूल्य त्यहाँका निर्दोष जनताले चुकाउनु परेकोमा दुःख व्यक्त गरेको छ भने पाकिस्तानले इरानमाथिको अनावश्यक आक्रमणको कडा निन्दा गर्दै तत्काल कूटनीतिक वार्तामा फर्कन आह्वान गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button