निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्णः पत्रकार महासंघ बागमती प्रदेश

हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएको छ। शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले मुलुकको लोकतान्त्रिक अभ्यासलाई सुदृढ तुल्याउन सञ्चारकर्मीहरूले जिम्मेवार र तटस्थ भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको हो।
महासंघका बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचनको समयमा सूचनाको प्रवाह गर्दा त्यसको संवेदनशीलतालाई मनन गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ। सञ्चारकर्मीहरूले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा नलागी तटस्थ रहेर सत्य–तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नु आजको मुख्य आवश्यकता भएको महासंघको ठहर छ।
यस विशेष घडीमा महासंघले सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चार माध्यमहरूलाई नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई अक्षरशः पालना गर्न आग्रह गरेको छ। विशेषगरी सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट फैलिन सक्ने भ्रामक सूचना, गलत सूचना र वैमनस्यता फैलाउने खालका सामग्री प्रति सचेत रहँदै तथ्यपूर्ण समाचार मात्र प्रकाशन वा प्रसारण गर्न महासंघले अनुरोध गरेको छ।
त्यसैगरी, निर्वाचनको समयमा समाचार संकलनका क्रममा समाजका अल्पसंख्यक, महिला, दलित र सीमान्तकृत समुदायका आवाजलाई समेत उचित स्थान दिएर निर्वाचनलाई थप उल्लासपूर्ण बनाउन भूमिका खेल्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। कार्यक्षेत्रमा खटिँदा आफ्नो व्यक्तिगत सुरक्षा र स्वास्थ्यको ख्याल गर्दै सम्भावित जोखिमप्रति सतर्क रहन समेत बागमती प्रदेशका सम्पूर्ण सञ्चारकर्मीहरूलाई विशेष आग्रह गरिएको छ।
निर्वाचनलाई एउटा उत्सवका रूपमा सफल पार्न र नागरिकको मताधिकारको सम्मान गर्न सञ्चार क्षेत्रले देखाउँदै आएको व्यावसायिक धर्मप्रति गौरव प्रकट गर्दै महासंघले सबैलाई पेशागत मर्यादा उच्च राख्न र वस्तुनिष्ठ सूचना सामग्री सम्प्रेषण गर्न हार्दिक अपील गरेको छ।


