मन्थली नगरकप भलिबल: पुरुषतर्फ चिसापानी, महिलातर्फ भटौली च्याम्पियन

रामेछाप — मन्थली नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न मन्थली नगर कप रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता तथा दोस्रो मन्थली नगरकप महिला भलिबल प्रतियोगिता २०८२ मा विभिन्न वडाका टोलीबीच प्रतिस्पर्धा सम्पन्न भएको छ।
पुरुषतर्फ मन्थली–८ चिसापानीले उत्कृष्ट प्रदर्शन गर्दै नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र जित हात पारेको छ भने मन्थली–७ भटौली दोस्रो स्थान हासिल गर्दै ७५ हजार रुपैयाँमा चित्त बुझायो । मन्थली–११ नाटिला तेस्रो हुँदा ५० हजार रुपैयाँ र मन्थलीले सान्त्वना स्थान हासिल गर्दै नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
यता महिलातर्फको प्रतिस्पर्धामा वडा नं. ७ भटौलीले प्रथम स्थान हात पार्दै नगद ५० हजार रुपैयाँसहित शिल्ड र मेडल जितेको छ । प्रतियोगितामा वडा नं. ८ चिसापानी द्वितीय हुँदै ४० हजार, वडा नं. १ मन्थली तृतीय हुँदै ३० हजार र वडा नं। १३ फुलासीले सान्त्वना स्थान प्राप्त गर्दै २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
तेस्तै मन्थली नगरकप भलिबलमा व्यक्तिगत विधातर्फ उत्कृष खेलाडीहरूलाई पुरस्कृत गरिएको छ।
महिलातर्फ उत्कृष्ट सर्भरको उपाधि निरता श्रेष्ठले जितिन् भने उत्कृष्ट डिफेन्डर मन्दिरा श्रेष्ठ घोषित भइन्। उत्कृष्ट सेटरको उपाधि बुनु माझीले हात पार्दा उत्कृष्ट स्पाइकरमा बबिता माझी छनोट भइन्। त्यस्तै उत्कृष्ट ब्लकरमा आशिका पुरी र सर्वोत्कृष्ट खेलाडीमा रञ्जु चौधरी घोषित भइन्। उत्कृष्ट प्रशिक्षकको उपाधि दीपक माझीलाई प्रदान गरिएको आयोजकले जनाएको छ।
पुरुषतर्फ उत्कृष्ट सर्भर खेलाडी गणेश कर्माचार्य घोषित हुँदा उत्कृष्ट डिफेन्डर कृष्ण माझी बने। उत्कृष्ट सेटरमा अनिल माझी तथा उत्कृष्ट स्पाइकरमा गोरख माझी चयन भए। उत्कृष्ट ब्लकरमा नविनराज श्रेष्ठ घोषित हुँदा सर्वोत्कृष्ट खेलाडीमा कुमार श्रेष्ठ पुरस्कृत भए। उत्कृष्ट प्रशिक्षकको उपाधि रमेश श्रेष्ठलाई प्रदान गरिएको छ।
प्रतियोगिताको समापन समारोहमा बोल्दै नगरप्रमुख लब श्रेष्ठले खेलकुदको माध्यमबाट नगरलाई देशव्यापी रुपमा परिचित गराउन र समृद्ध मन्थलीको आकांक्षालाई टेवा पुर्याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरेको बताए । उनले अन्य क्षेत्रसँगै खेलकुदको विकास र लगानीमा नगरको कुनै कमी नराखेको बताउँदै यस्ता प्रतियोगिताहरुले खेलाडी उत्पादनमा सघाउ पुग्ने बताए ।
त्यसैगरी नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधिले नगरको खेल क्षेत्रलाई थप चलायमान बनाउने साथै स्थानीयस्तरमा खेलकुद विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
गत शुक्रबार देखि मन्थली माध्यमिक विद्यालयको खेल मैदान सुरु भएको प्रतियोगितामा नगरका १४ वटै वडाका पुरुष खेलाडीहरुको उपस्थित रहेको थियो भने महिला खेलाडी भने ६ ओटा वडा सहभागी भएका थिए।



