नातेदारले मात्र अङ्गदान गर्न पाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । निश्चित आफन्त र नातेदारबाट मात्रै मानव अङ्ग आदान-प्रदान गर्न पाइने कानुनी व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सो कानुनी व्यवस्थाका कारण बाँच्न पाउने हक हनन भएको दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

निश्चित आफन्त र नातेदारबाट मात्र अङ्गदान लिन पाइने कानुनी व्यवस्था संविधानमा रहेको स्वतन्त्रतापूर्वक बाँच्न पाउने मौलिक हकसँग बाझिएको दाबी गर्दै खेमबहादुर छन्त्याल र कानुनका विद्यार्थीहरू डेविड चौधरी र ओस्निक पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

उनीहरूले मानव अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ मा अङ्ग दान लिनका लागि गरिएको बन्देजको व्यवस्था खारेजीको माग गरेका छन् ।

मानव अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को दफा १४ (क)मा बिरामीको नजिकको नातेदारले मात्रै अङ्ग दान दिन सक्ने व्यवस्था छ । ऐनमा पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री र तिनलाई राख्ने बाबुआमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमालाई नजिकको नातेदार मानिएको छ ।

त्यसैगरी काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देवरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भाञ्जा, भाञ्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ अनि जेठानलाई मात्र नजिकको नातेदार मानिएको छ ।

कानुनमा भएको यो व्यवस्थाले परिभाषा बाहेकका आफन्त र शुभचिन्तकबाट मानव अङ्ग आदानप्रदानको अवस्था नरहेको, त्यसले गर्दा बिरामीहरूको बाँच्न पाउने हक हनन भएको भन्दै उनीहरूले मुद्दा हालेका हुन् ।

प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक हुनेछ भन्ने संविधानको धारा ३५ को व्यवस्थासँग ऐनको त्यो प्रावधान बाझिएकाले खारेज हुनुपर्ने माग उनीहरूको छ । उनीहरूको निवेदनमाथि २९ मंसिरमा सुनुवाइ हुने गरी पालो तोकिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button