शिक्षक दम्पतीद्वारा ६ लाख बढिको रकमले विद्यालयमा सरस्वती मन्दिर निर्माण

रामेछाप ।  मन्थली नगरपालिका–५ स्थित भैरवी मावि  सुनारपानीको हाताभित्र निर्मित सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । उक्त विद्यालयमा अध्यापन गराउने शिक्षक दम्पती द्वारिका कार्की र शिक्षिका महालक्ष्मी कार्कीले निजी लगानीमा निर्माण गरेका छन् । निर्माण गरिएको सरस्वती मन्दिरको वसन्तपंचमीको अवसर पारेर प्राण प्रतिष्ठा सँगै मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले एक औपचारिक कार्यक्रमका बिच आज सोमबार उद्घाटन गरेका हुन्   ।  लामो समय देखि सुनारपानीको भैरवी माविमा अध्यापन गराउँदै आउनु भएका शिक्षक द्वारिका कार्की र सोही विद्यालयमा कार्यरत शिक्षक महालक्ष्मी कार्कीले आफ्ना स्वर्गीय पिता  भीमबहादुर कार्की र आमा अन्नपूर्ण कार्कीको स्मृतिमा सपरिवारको सल्लाहमा विद्यालयमा उक्त मन्दिर निर्माण गरेका थिए । नव निर्मित मन्दिर उद्घाटन अघि कार्की दम्पतीले मन्दिर विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए । कूल ६ लाख ३७ हजार ९ सय ६३ रुपैयाँको लागतमा उक्त  मन्दिर निर्माण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट  बोल्दै नगरप्रमुख लव श्रेष्ठले कार्की दम्पतीले विद्यालय हाता भित्र सरस्वतीको मन्दिर बनाएर आफ्नो निजी र पारिवारिक हैसियत उँचो बनाएको धारणा व्यक्त गर्नु भयो । उहाँले कार्की दम्पती जस्तै समाजका अन्य मानिसले पनि सामाजिक विकासमा योगदान गर्न सक्ने हो भने हाम्रो देशले काँचुली फेर्नका लागि कति पनि समय कुर्न नपर्ने धारणा व्यक्त गर्नु भयो । नगर प्रमुख श्रेष्ठले सबै नागरिकले कार्की दम्पतीले जस्तै  गरी उँचो मनोभावले सकारात्मक सोचका साथ  सामाजिक दायित्व पनि पुरा गर्ने हो भने नेपाल सरकारले परिकल्पना गरे भन्दा पनि चाँडै समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार  बन्ने विश्वास व्यक्त गरे ।  यसबाट व्यक्तिले  चाह्यो भने समाजमा परिवर्तन सम्भव भएको बताउँदै   अभियानमा सबै पक्षलाई सकारात्मक भएर लाग्न पनि नगर प्रमुखले आग्रह गरेका थिए ।  उक्त कार्यक्रममा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष रवीन कार्की मन्थली नगरपालिका महाशाखा प्रमुख हेमन्त बुढाथोकी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्की, नेकपा एमालेका नगर सचिव गणेश कार्की तथा समाजसेवी  शिव ध्वज कार्की  लगायतका वक्ता हरुले कार्की दम्पतीले विद्यालय हाता भित्र मन्दिर बनाएर उदाहरणीय काम गरेको भन्दै उहाँहरूको कामको प्रशंसा गरेका थिए ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको मन्दिर हस्तान्तरण तथा प्राण प्रतिष्ठा कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक हरूको पनि उल्लेख्य रूपमा उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालय परिवारको तर्फबाट  मन्दिर बनाइदिने  शिक्षक दम्पती द्वारिका कार्की र  शिक्षक महालक्ष्मी कार्कीलाई प्रमुख अतिथिको हातबाट कदर पत्र र दोसल्ला ओढाएर  सम्मान पनि गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button