Trending

डोको विस्थापनदेखि शब्दको उज्यालोसम्म जगदीश

रामेछाप । मन्थलीमा आयोजित जगदीश घिमिरे स्मृतिको साहित्यिक उत्सवको सुरुमा मन्तव्य राख्ने क्रममा जगदीश घिमिरे प्रतिष्ठानका अध्यक्ष एवम् स्व. जगदीश घिमिरेकी धर्मपत्नी दुर्गा घिमिरेले भावुक हुँदै भनिन्, जगदीश घिमिरेले रामेछापका अधिकांश महिला दिदीबहिनीहरूको पिठ्युँमा बोकेको डोको र डोकोभित्र रहेको गाग्री विस्थापन गरे । अध्यक्ष घिमिरेका शब्दमा, “जगदीश रामेछापका लागि विकासको ज्योति थिए, उनी साहित्यको दुनियाँमा नेपाली भाषी लेखक तथा पाठकको मन–मुटुमा बस्न सफल भए ।” यही भावनात्मक र सन्देशमूलक मन्तव्यसँगै मन्थलीमा आयोजित जगदीश घिमिरे स्मृति पुरस्कार वितरण तथा साहित्यिक गोष्ठीले स्व. घिमिरेको जीवन, योगदान र प्रेरणालाई पुनः उजागर ग¥यो ।
रामेछापको मन्थलीस्थित जगदीश स्मृति हल (तामाकोसी सेवा समिति) मा शनिवार बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रम साँझ ४ बजेसम्म चल्यो । तीन सत्रमा विभाजित कार्यक्रममा काठमाडौंबाट आएका करिब २० जनाभन्दा बढी साहित्यकार, लेखक, अध्येता तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति थियो । साहित्य, स्मृति र सम्मानको संगम बनेको यो कार्यक्रमले रामेछापको साहित्यिक पहिचानलाई अझ सबल बनाएको सहभागीहरूको भनाइ थियो ।
कार्यक्रमको पहिलो सत्रमा मन्थली नगरपालिकाका उप–प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि ईश्वरी बस्नेतले औपचारिक उद्घाटन गरिन् । सभाध्यक्षको आसन ग्रहण जगदीश घिमिरे प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेले गरिन् । तामाकोसी सेवा समितिका अध्यक्ष गुञ्जबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्दै पाहुनाहरूलाई मन्थलीमा स्वागत गरेपछि सभाध्यक्ष घिमिरेले कार्यक्रमको उद्देश्य र जगदीश घिमिरेको जीवनदर्शनमाथि प्रकाश पारिन् ।
उद्घाटन सत्रकै महत्त्वपूर्ण क्षणका रूपमा लेखक, साहित्यकार तथा चिकित्सक प्रा.डा. सुमन कर्माचार्यद्वारा लिखित गोजी पुस्तिका ‘जगदीश घिमिरे ः संक्षिप्त जीवनी’ विमोचन गरियो । उक्त कृतिले जगदीश घिमिरेको पत्रकारिता, साहित्य र सामाजिक चेतनाको यात्रालाई संक्षेपमा प्रस्तुत गरेको भन्दै सहभागीहरूले प्रशंसा गरे ।
कार्यक्रमका अर्का वक्ता तथा साहित्यकार, नेपालको चर्चित साहित्यिक द्वैमासिक पत्रिका रचनाका सम्पादक रोचक घिमिरेले अक्षरकलाका माध्यमबाट जगदीश घिमिरे जगतमा सधैं जीवित रहन सफल भएको बताए । मन्तव्यका क्रममा उनले रामेछाप जिल्लामा जगदीश घिमिरेको योगदानमाथि अझ व्यापक चर्चा–परिचर्चा हुनुपर्नेमा जोड दिए ।
“जिल्लाका कुना–कन्दरासम्म पुगेर जगदीशको साहित्यिक र सामाजिक योगदानको समीक्षा हुनुपर्छ,” उनले भने, “त्यसले मात्र नयाँ पुस्तालाई सही अर्थमा प्रेरित गर्न सक्छ ।”
वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले जगदीश घिमिरेको बहुआयामिक योगदानमाथि गहिरो विश्लेषण प्रस्तुत गरे । उनले पत्रकारिता र साहित्यको यात्रालाई जनकपुर हुँदै रामेछाप र काठमाडौंसम्म विस्तार गर्दा घिमिरेले धेरै अनुज स्रष्टा जन्माउन सफल भएको बताए ।
“उहाँ देशले भुल्नै नहुने शब्दका सारथी हुनुहुन्छ,” रोदनले भने, “उहाँको लेखनीले आज पनि हामीलाई सामाजिक उत्तरदायित्व बोध गराइरहेको छ ।”
रामेछाप र केन्द्रबाट आएका स्रष्टाहरूले आफ्ना सिर्जनाहरूको वाचन गरे । कविता, निबन्ध र संस्मरणले भरिएको साहित्यिक सभाले हललाई भावनात्मक र सिर्जनात्मक ऊर्जा प्रदान ग¥यो ।
कार्यक्रमको केन्द्रबिन्दुका रूपमा रहेको जगदीश घिमिरे स्मृति पुरस्कार बाट साहित्यकार मीना चौलागाई र पवन आलोक सम्मानित भए । वि.सं. २०८१ र २०८२ का लागि प्रदान गरिएको यो पुरस्कार अन्तर्गत दुवै स्रष्टालाई क्रमशः ५१–५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
पुरस्कार ग्रहणपछि साहित्यकार मीना चौलागाईले आफू रामेछापकै चेली भएकोमा गर्व गरिन् ।
“मेरो माइती रामेछाप हो,” उनले भनिन्, “जगदीशले सिकाउनु र देखाउनु भएको साहित्यिक यात्रामा मेरो पाइला निरन्तर चलिरहने छ ।”
त्यस्तै अर्का सम्मानित साहित्यकार पवन आलोकले यो पुरस्कारले आफूलाई थप जिम्मेवारीको अनुभूति गराएको बताए । “जगदीश घिमिरेलाई यो पुरस्कारको बाटोबाट अझ धेरै यादको डायरीमा सजाउन सकिन्छ,” उनले भने, “यो सम्मानले साहित्यप्रति मेरो उत्तरदायित्व अझ बढाएको छ ।”
कार्यक्रमको अर्को सुन्दर पक्षका रूपमा मन्थली नगरपालिका वडा नं. १ का सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता आयोजना थियो । ‘सामाजिक तथा साहित्यिक योगदानमा जगदीश घिमिरेको उपस्थिति’ शीर्षकमा भएको प्रतियोगितामा नागकन्या मावि गडवारी, कर्कलादेवी इङ्लिस स्कुल, लिटिल स्टार इङ्लिस स्कुल र मन्थली माविका विद्यार्थीहरूको सहभागिता थियो ।
नागकन्या मावि गडवारीका छात्रा सन्ध्या माझीले प्रथम, लिटिल स्टार इङ्लिस स्कुलकी सन्ध्या थापाले द्वितीय र सोही विद्यालयकी रोनिका माझीले तृतीय स्थान हासिल गरे ।
कार्यक्रमको अन्त्यमा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा मन्थली नगरपालिकाकी उप–प्रमुख ईश्वरी बस्नेतले रामेछापका अग्रज र अनुज साहित्यकारका लागि नगरपालिकाले विशेष व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन् । “यस क्षेत्रमा लागेको व्यक्तित्वहरूको प्रोफाइल तयार गर्न जिल्लास्थित क्रियाशील स्रष्टा तथा संस्थाहरूले सहयोग गर्नुपर्छ,” उनले भनिन्, “मन्थली नगरपालिकाबाट गर्नुपर्ने सहयोग र समन्वयमा कुनै कसर बाँकी राख्दिन । भाषा–साहित्यका लागि नगरपालिका सदैव तयार छ ।”
कार्यक्रमको सहजीकरण जगदीश घिमिरे स्मृति पुरस्कार वितरण, साहित्यिक गोष्ठी तथा वक्तृत्वकला प्रतियोगिताका संयोजक प्रा.डा. सुमन कर्माचार्य तथा सदस्यद्वय प्रकाश न्यौपाने र कुमार श्रेष्ठले गरेका थिए । सुव्यवस्थित सञ्चालन र विषयगत गहिराइले कार्यक्रमलाई स्मरणीय बनाएको सहभागीहरूको प्रतिक्रिया थियो ।
डोको र गाग्री विस्थापनको प्रतीकात्मक कथनबाट सुरु भएको यो कार्यक्रम साहित्य, विकास र सामाजिक चेतनाको साझा यात्रामा टुंगियो । मन्थलीमा आयोजित जगदीश घिमिरे स्मृति कार्यक्रम केवल पुरस्कार वितरणमा सीमित रहेन, यसले रामेछापको साहित्यिक इतिहास, वर्तमान र भविष्यलाई एउटै मञ्चमा जोड्दै जगदीश घिमिरेलाई शब्द, स्मृति र प्रेरणाका रूपमा पुनर्जीवित ग¥यो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button