रामेछापमा निर्वाचन प्रहरीको प्रशिक्षण तीव्र

रामेछाप । निर्वाचन सुरक्षालाई विश्वसनीय र भरपर्दो बनाउन जिल्ला प्रहरी कार्यालय रामेछापले निर्वाचन प्रहरीको प्रशिक्षणलाई तीव्र बनाएको छ । राज्यको नीति बमोजिम छनोट भएका म्यादी प्रहरीहरूलाई फिल्डमा खटाउनुपूर्व विशेष प्रशिक्षण दिन थालिएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक राजन प्रसाद तिम्सिनाका अनुसार, हाल जिल्लामा १३ सय ३३ जना म्यादी प्रहरीहरू प्रशिक्षणमा सहभागी छन् । “हामीले छनोट प्रक्रिया र आवश्यक परीक्षाका सबै चरणहरू पार गरेका उम्मेदवारहरूलाई गहन तालिम दिइरहेका छौँ,“ प्रवक्ता तिम्सिनाले भने, “यो प्रशिक्षण १० दिनसम्म चल्नेछ, जसले उनीहरूलाई निर्वाचनको समयमा आइपर्न सक्ने चुनौती सामना गर्न सक्षम बनाउनेछ“ ।
प्रशिक्षणका क्रममा प्रहरीले सैद्धान्तिक र व्यावहारिक दुवै पक्षलाई समेटेको छ । निर्वाचन प्रहरीहरूलाई निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन सम्पन्न भएपछि निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पारिएको छ । विशेष गरी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका कानुनी प्रावधान, मतदान स्थलको सुरक्षा व्यवस्था र भीड नियन्त्रणका रणनीतिहरूका बारेमा प्रशिक्षण दिइएको प्रवक्ता तिम्सिनाले जानकारी दिए ।
“हामीले उनीहरूलाई व्यावहारिक रूपमा परेड, पीटी (शारीरिक व्यायाम) र सुरक्षाका आधारभूत सीपहरू सिकाएका छौँ,“ तिम्सिनाले थपे, “यसका साथै निर्वाचन अधिकृतको टोली, जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग कसरी एकीकृत रूपमा समन्वय गरेर काम गर्ने भन्ने विषयमा पनि उनीहरूलाई अभ्यस्त बनाइँदैछ“ ।
छनोट भएका मध्ये करिब ४०–५० जना म्यादी प्रहरीहरू विभिन्न कारणले तालिममा अनुपस्थित रहेका छन् । उनीहरूको स्थानमा काभ्रेपलाञ्चोक जिल्लाहरूबाट माग गरेर आवश्यक संख्या पूर्ति गरिने प्रहरीले जनाएको छ । प्रवक्ता तिम्सिनाले तालिम नलिई कसैलाई पनि सिधै मतदान स्थलमा नखटाइने स्पष्ट पारेका छन् ।
प्रहरीको यो सक्रियता र व्यवस्थित प्रशिक्षणले रामेछापमा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुनेमा सुरक्षा निकाय विश्वस्त देखिएको छ । १० दिने तालिमपश्चात् प्रशिक्षित जनशक्तिलाई जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा परिचालन गरिने जिल्ला प्रहरी कार्यालय रामेछापलको योजना रहेको छ ।



