रामेछाप उद्योग वाणिज्य संघमा प्रकाश कुमार श्रेष्ठ निर्वाचित

रामेछाप — रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाशकुमार श्रेष्ठ फराकिलो मतान्तरसहित विजयी भएका छन् । शुक्रवार जिल्ला समन्वय समितिको प्राङ्गणमा सम्पन्न मतदानमा उनले निकटतम प्रतिद्वन्द्वी तथा निवर्तमान कार्यसमितिका महासचिव कुमार श्रेष्ठलाई ५२९ मतको अन्तरले पराजित गरेका हुन् ।
निर्वाचनमा खसेको कुल १ हजार ३६२ मतमध्ये प्रकाशकुमार श्रेष्ठले ९३२ मत प्राप्त गर्दा कुमार श्रेष्ठ ४०३ मतमा सीमित भए । २७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। औपचारिक घोषणा गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत चूडामणि अर्यालले जानकारी दिए ।
संघमा दर्ता भएका १ हजार ६९८ मतदातामध्ये करिब ८० प्रतिशत अर्थात् १ हजार ३६१ भन्दा बढी मत खसेको जनाइएको छ। तीमध्ये ३९६ महिला मतदाता सहभागी भएका थिए । अध्यक्ष पदका लागि मात्र प्रतिस्पर्धा भएको यस निर्वाचनमा संयुक्त व्यवसायी समूहका तर्फबाट प्रकाशकुमार श्रेष्ठ र स्वतन्त्र रूपमा उम्मेदवारी दिएका कुमार श्रेष्ठबीच कडा प्रतिस्पर्धा देखिएको थियो ।
अध्यक्षमा सर्वसम्मति हुन नसकेपछि निर्वाचनमा गएको संघमा यसअघि नै अन्य १४ पदाधिकारी तथा सदस्य भने निर्विरोध चयन भइसकेका थिए । चैत १० गते सम्पन्न प्रक्रियामार्फत महासचिवमा यज्ञ प्रसाद सुवेदी, वरिष्ठ उपाध्यक्षमा आकाश रिजाल, वाणिज्य उपाध्यक्षमा सुरेश उदास, उद्योग उपाध्यक्षमा राम सुदिश शाह सोनार, सचिवमा सिताराम लोहार र कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी (उत्तम) चयन भएका छन् ।
त्यस्तै, आजीवन सदस्यतर्फ वासुदेव फुयाँल पुनः चयन भएका छन् भने महिला सदस्यमा पहिलोपटक मञ्जु माझीले स्थान बनाएकी छन् । खुला सदस्यतर्फ श्यामकुमार श्रेष्ठ, किशोर पौडेल, सुरोजकुमार तामाङ, देवचन्द्र कठेत र राजु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यसपटक नयाँ रूपमा समावेश गरिएको एसोसियट सदस्य पदमा टिकाराज आरण पनि निर्विरोध चयन भएका छन् ।
निजी क्षेत्रका व्यवसायीहरूको नेतृत्व गर्ने जिल्लाकै प्रमुख संस्थाका रूपमा रहेको संघमा निर्वाचित नयाँ कार्यसमितिले आगामी तीन वर्ष कार्यभार सम्हाल्नेछ। नवनिर्वाचित अध्यक्ष श्रेष्ठले व्यवसायीहरूको हकहित संरक्षण, स्थानीय उद्योग–व्यवसायको प्रवद्र्धन तथा संघलाई अझ प्रभावकारी र समावेशी बनाउने प्रतिबद्धता जनाएका छन् ।



