वडामा कांग्रेस अधिवेशन सम्पन्न, थोकरद्वारा आभार व्यक्त

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप जिल्लाका सम्पूर्ण ६४ वटै वडामा वडा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । जिल्लाका आठवटै स्थानीय तहका ६४ वडामा उत्साहजनक, अनुशासित र लोकतान्त्रिक वातावरणमा वडा तहको नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
सङ्गठन सुदृढीकरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने अभियानअन्तर्गत निर्धारित समयमै सबै वडामा अधिवेशन सम्पन्न भएपछि नेपाली कांग्रेस रामेछापका कार्यबाहक सभापति नबराज थोकरले खुसी व्यक्त गरे । कार्यबाहक सभापति थोकरले वडा अधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, निर्वाचन प्रतिनिधि, शुभेच्छुक तथा सहयोगीहरूमा हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गरे ।
अधिवेशन सफल पार्न योगदान पु¥याउने सबैप्रति आभार व्यक्त गर्दै कार्यबाहक सभापति थोकरले भने, “लोकतान्त्रिक विधि र प्रक्रियालाई आत्मसात् गर्दै रामेछापका सबै ६४ वटै वडामा अधिवेशन सम्पन्न गर्न यहाँहरूले गर्नुभएको अतुलनीय योगदान, सहयोग र सक्रिय सहभागिताप्रति म हार्दिक आभार व्यक्त गर्दछु ।“
उनले तल्लो तहबाटै पार्टीभित्र लोकतान्त्रिक अभ्यास मजबुत हुनुले नेपाली कांग्रेसलाई थप गतिशील र सुदृढ बनाउने विश्वास व्यक्त गरे । साथै, आगामी दिनहरूमा पनि पार्टीको नगर, क्षेत्र र जिल्ला अधिवेशनका साथै समग्र साङ्गठनिक अभियानमा सबैको निरन्तर साथ, सहयोग र सक्रिय सहभागिताको अपेक्षा राखेको उनको भनाइ थियो ।
कार्यबाहक सभापति थोकरले आगामी दिनमा नेपाली कांग्रेसलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाएर लैजानुपर्नेमा जोड दिँदै सम्पूर्ण पार्टी पङ्क्तिलाई एकजुट भएर अगाडि बढ्न आह्वान गरे । रामेछापमा दुई नगरपालिका (मन्थली र रामेछाप) तथा छ गाउँपालिका (उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोशी, सुनापति, दोरम्बा शैलुङ र खाँडादेवी) रहेका छन् । सबै ६४ वडामा नयाँ नेतृत्व चयन भएसँगै अब जिल्लाका पालिका, प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको तयारी तीव्र पारिएको पार्टी स्रोतले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button