खाँणको गृह जिल्लामा काँग्रेस नेताहरुको जिकिर, उहाँले न्याय पाउनुहुन्छः देउवा

बुटवल । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण अन्यायमा परेको दाबी कांग्रेस नेताहरुले गरेका छन् ।
खाणको गृह जिल्ला रुपन्देहीमा मंगलबार कांग्रेसको प्रथम जिल्ला सम्मेलन उदघाटन सत्रमा बोल्दै कांग्रेस नेताहरूले खाण निर्दोष रहेको जिकिर गरे । उनीहरूले खाणलाई विभिन्न तत्वले फसाएको आरोप लगाउँदै रिहाइका लागि पार्टीले पहल गर्नुपर्ने बताए ।
सम्मेलनमा पार्टी सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा धेरै बोल्न उचित नहुने उल्लेख गर्दै नेता खाँणले न्याय पाउनेमा आफू विश्वस्त रहेको र त्यो समय छिट्टै आउने बताए ।
‘उहाँले न्याय पाउनुहुन्छ, वकिल साथीहरू लागिरहनुभएको छ, अदालतमा विचाराधीन विषयमा धेरै बोल्नु राम्रो हुँदैन’ देउवाले भने ।
रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङले बालकृष्णको रिहाइका लागि पार्टीको केन्द्रीय कार्यसमितिले देखिने गरी पहल गर्नुपर्ने बताए ।
केन्द्रीय सदस्य चन्द्र बहादुर केसीले बालकृष्ण खाण निर्दोष रहेको जिकिर गर्दै उनको रिहाइका लागि सभापति शेर बहादुर देउवाले पहल गर्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले बालकृष्ण खाणलाई सर्वोच्च अदालतले दोषी ठहर नगर्दासम्म उनी निर्दोष हुने बताए । खाणलाई कुनै तत्वले फसाएको भन्दै उनले त्यस्ता तत्वको पनि हिसाब किताब पार्टीले गर्ने चेतावनी दिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाणसहित पूर्व मन्त्री टोप बहादुर रायमाझी, गृह सचिव टेक नारायण पाण्डे लगायत अहिले जेलमा छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका निवासी खाण पटकपटक मन्त्री बनेका नेता हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button