सुनापति रनिङ शिल्डको उपाधि पशुपति माविलाई
रामेछाप । सुनापति गाउँपालिका पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि पशुपति माध्यमिक विद्यालयले जितेको छ । पालिका भित्रका ९ वटा माविलाई पछि पार्दै पशुपति माविले उपाधि जितेको हो ।
गत शनिवारदेखि सुरु भएको खेलमा पशुपति माविले प्रथम हुँदै नगद २० हजार सहित शिल्ड, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे । पशुपति माविले ५ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेको थियो ।
मावि मन्दर ५ स्वर्ण १ रजत र ३ कास्य पदक जित्दै दोस्रो बनेको छ । मन्दरले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। विजेता र उपविजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नगद सहित पुरस्कार प्रदान गरे ।
पालिकाका अध्यक्ष ठुलो कान्छा तामाङ उपाध्यक्ष गीता विष्ट र प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीसहितको उपस्थिति रहेको रनिङ शिल्डमा संविधान सभा सदस्य पार्वती थापाको विशेष आतिथ्यता रहेको थियो । भलिबल, कबड्डी र एथलेटिक्स विधाका खेलमा प्रतिस्पर्धा गराइएको सो तीन दिने रनिङ शिल्डमा १० वटा माविका झण्डै २ सय ४० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा कृष्ण वर्णेश्वर माविले ३ स्वर्ण, ३ रजत र २ कास्य पदक जीतै तेस्रो भयो । कृष्ण वर्णेश्वरले नगद १० हजारमा चित्त बुझायो। जिल्लाकै नमुना माविको नामले परिचित डहू माविले ३ स्वर्ण, १ रजत र ३ कास्य पदक जित्दै चौथो स्थानमा सीमित भएको सुनापति खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले बताए । खेल सुनापती गाउँपालिका वडा नं ३ हिलेदेवी साँदीडाँडाको खेलमैदानमा भएको थियो ।