लिखु गाउँपालिका स्तरीय पाचौँ राष्ट्रपति रनिङशिल्ड सुरु
ओखलढुङ्गा । जिल्लाको लिखु गाउँपालिका स्तरीय पाचौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुक्रवार बाट सुरु भएको छ । लिखु गाउँपालिका वडा न. ६ गाम्नान्टारको खेल मैदानमा रनिङशिल्ड सुरु भएको हो । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना सुरु भएको प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
खेल र खेलाडी भनेको राष्ट्रको हुन्छ, कुनै दलको हुँदैन । सार्वजनिक पदमा रहेका जनप्रतिनिधिको नैतिक दृष्टिकोण समान हुन्छ । खेलकुदमा कुनैपनि आग्रह पूर्वाग्रह हुँदैन, अध्यक्ष कार्कीले भने । कार्कीले प्रतियोगिता निष्पक्ष रूपमा सम्पन्न गर्न समेत अनुरोध गरे । उनले भने–गत वर्ष विविध कारणले संचालन हुन नसकेको प्रतियोगिता यस वर्ष भने समयमानै सुरु भएकोमा खुसी छु ।
बिद्यार्थीहरुले पढाइका सँगसँगै खेल खेलकुद क्षेत्रमा समेत सहभागी हुनु पर्ने कार्यक्रमका विशिष्ट अतिथि पालिका उपाध्यक्ष अस्मिता थापाले बताइन । उनले भनिन् – जिल्ला, प्रदेश र संघमा आफ्नो क्षमता प्रदर्शनगरि राष्ट्रको देशको गहना बन्न विद्यार्थीहरू अग्रसर हुनु पर्छ । खेल क्षेत्रलाई गर्नु पर्ने सहयोगमा पालिकाले कुनै पनि कन्जुस्याइँ गर्दैन ।
लिखु गाउँपालिकाका ६ का वडा अध्यक्ष टिकाराम क्याप्छाकी मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा ९ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा विद्यालयका प्रधानाध्यापकहरू लगायतको उपस्थिति रहेको थियो । ८ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिता आइतबार सम्म सम्म ३ दिन संचालन हुनेछ ।
पहिलो दिन (शुक्रवार) भएको खेलमा १००, २०० र ४०० मिटर पुरुष दौड तर्फ ग्रामोदय युगकवि सिद्धिचरण मावि, महिला तर्फ १०० मिटरमा लेति मावि, २०० मिटरमा यसम मावि र ४०० मिटर तर्फ जनजीवन मावि प्रथम भएको आयोजकले जनाएको छ ।