रामेछाप नगर रनिङसिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु

रामेछाप । रामेछाप नगरपालिकाको छैटौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता २०८० बिहीबारदेखि सुरु भएको छ । रामेछाप बजारको टुँडिखेल मैदानमा प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन गर्दै बागमती प्रदेशका सांसद तारानारायण श्रेष्ठले खेलकुदको विकास विना राष्ट्रको विकास सम्भव नभएकोले सरकारले खेलकुदको क्षेत्रमा लगानी गर्नु पर्ने बताए । उनले खेलकुद विकासको गतिसँगै शैक्षिक विकासको गतिलाई पनि उत्तिकै महत्वदिनु पर्ने भएकोले यसको सुधारका लागि नीतिगत रूपमा रहेका जटिलताहरू फुकाउनु आवश्यक रहेको बताए । सांसद श्रेष्ठले खेलकुद विकासको गतिसँगै शैक्षिक विकासको गतिलाई बढाउन आफू पनि सक्रिय रूपमा लागि पर्ने प्रतिवद्धता गरे ।
खेल मानव जीवनको महत्त्वपूर्ण अङ्ग भएकोले यसको थप विकासका लागि अग्रसर हुन बागमती प्रदेशका अर्का सांसद आनन्द कुमार श्रेष्ठले सरोकारवालाहरूलाई आग्रह गरे । उनले सबै स्थानीय सरकारको लगानी र इच्छा शक्तिले मात्र खेलकुदको विकासमा आशातीत सुधार हुन नसक्ने भन्दै यसका लागि आफू पनि लागि पर्ने धारणा राखे ।
बजेटमा भएको पाबन्दीका कारण नगरपालिकाले चाहँदा चाहँदै पनि खेलकुद र नगरको सर्वाङ्गीण विकासको क्षेत्रमा सोचेजति काम गर्न नसकेको रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले बताए । उनले खेलकुद र नगरको सर्वाङ्गीण विकासको लागि प्रदेश सरकारका माननीयहरू मार्फत थप सहयोगका लागि लागि आग्रह गरे ।
उप प्रमुख बाल कुमारी कार्की थापा, प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे र नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले प्रतियोगिता मार्फत खेलकुदको गतिविधिलाई वडा स्तर सम्म विकास गर्न सके खेलकुदको संस्थागत विकासमा सहयोग पुग्ने धारणा राखे।
राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा नगर भित्र रहेका ९ वटा वडाका ११ माध्यमिक विद्यालयले भाग लिएका छन् ।
कार्यक्रमका अवसरमा सहभागी ११ विद्यालयहरूले प्रतियोगितात्मक मार्चपासमा मावि गौरीशङ्कर सर्वोत्कृष्ट बन्दै पुरस्कार र प्रमाण प्राप्त गरेको थियो भने शारदा संस्कृत मावि बावियाखर्कका विद्यार्थीहरूले कार्यक्रमको आरम्भमा स्वस्ति वाचन गरे ।
तीन दिन सम्म संचालन गरिने उक्त प्रतियोगिताका विभिन्न ७ विधाका खेललाई समावेश गराइएको र त्यसको उचित व्यवस्थापनका लागि विभिन्न समिति र उप समिति बनाई जिम्मेवारी बाँडफाँड गरिएको रामेछाप नगर शिक्षा शाखाका प्रमुख नमराज प्रसाद बडुले जानकारी दिए । खेलकुद आगामी शनिवार समापन गर्ने गरी कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button