लगातार छैटौँ पटक गौरीशङ्करले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

रामेछाप । रामेछाप नगरपालिकामा बिहीबारदेखि सुरु भएको छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशङ्कर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले प्रतियोगिता सहभागिता जनाएको थियो ।
गौरीशङ्कर माध्यमिक विद्यालयले विभिन्न खेलमा ३३ स्वर्ण, २७ रजत र २५ कास्य पदक प्राप्त गरेको छ । यो सँगै गौरीशंकरले लगातार ६ पटक रामेछाप नगर स्तरीय रनिङशिल्ड जितेको छ । प्रतियोगितामा द्वितिय भएको जनता मावि कोलन्जोरले १२ स्वर्ण, ८ रजत र ६ कास्य पदक जितेको छ । तृतीय भएको भँगेरी माविले ८ स्वर्ण, ११ रजत र २४ कास्य पदक जित्न सफल भएको छ ।
प्रतियोगितामा भलिबल, कबडी, एथ्लेटिक्स,छात्र÷छात्रा रिले दौड,तेक्वान्दो ,हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिङ थ्रो, सटपुट लगायतका खेलहरू खेलाइएको थियो । प्रतियोगितामा विजयी खेलाडी तथा विद्यालयलाई प्रतिनिधि सभा सांसद पूर्ण बहादुर तामाङ,जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का,रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, उपप्रमुख कुमारी कार्की र प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।






