सबै विद्यालयमा विद्युतीय हाजिरी

रामेछाप । जिल्लाको गोकुलंगा गाउँपालिकाले शिक्षा क्षेत्रमा राम्रो काम गरेको पालिकाकाका अध्यक्ष काजीबहादुर खड्काले प्रतिवेदन पेस गरे । उनका अनुसार पालिकामा भएका ३३ वटा सामुदायिक विद्यालयहरूमा (बाल कक्षा बाहेक) विद्युतीय हाजिरी जडानको काम सम्पन्न भैसकेको छ ।पालिकाले सबै विद्यालयहरूमा आवश्यक जनशक्तिको व्यवस्थापन गरी कक्षा १ भन्दा अगाडी के.जी. कक्षा थप गरी पठनपाठन कार्य संचालन गरेको छ ।पालिकाले कक्षा १ सम्म अंग्रेजी माध्यमबाट पढाई सञ्चालन गरी अंग्रेजी माध्यमका पाठ्यपुस्तक समेत गाउँपालिकाबाट विद्यालयहरूलाई निःशुल्क उपलब्ध गराएको छ।
गाउँपालिकाले बुधवार संचालन गरेको १४ औँ गाउँ सभा तथा हिउँदे अधिवेशनमा अध्यक्ष खड्काले चालु आर्थिक वर्षमा पालिकाले गरेको कामको प्रगति विवरणको प्रतिवेदन पेस गरेका थिए ।
अध्यक्ष खड्काको प्रतिवेदन अनुसार– आ.व.२०८०÷८१ मा छनौट भएको २२६ योजना मध्ये १६३ वटा योजनाको सम्झौता भई सकेको छ । जस अनुसार ७२.५४ प्रतिशत योजना सम्झौता भइसकेको २७.४६ प्रतिशत योजना सम्झौताको तयारीमा रहेको र ४.९१ प्रतिशत योजनाको भुक्तानी भइसकेको छ ।उनका अनुसार – पालिकाको वडा नं. १ को सबै योजनाको सम्झौता भई सकेको छ ।
पालिकाले लिएका लक्ष्य र बनाएका योजनाहरूको हाल सम्मको कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्दा गाउँसभाले अनुमान गरे अनुसारको आयको अनुपातमा संघीय सरकार र प्रदेश सरकारहरूबाट नेपालको संविधान अनुसार पालिकाले प्राप्त गर्नु पर्ने केही दायित्वहरू विविध कारणले ढिला गरी प्राप्त गर्ने क्रममा रहेकोले सोचे अनुरूपको काममा केही ढिलाइ भएको भए पनि लक्ष अनुसारको काम गरिने अध्यक्ष खड्काले बताए ।
पालिकाकी उपाध्यक्ष उषा कार्कीले राखेको संशोधनको लागि पेस गरेको योजनाहरूलाई सभाले सर्वसम्मत रूपमा पास गरेको थियो ।